काठमाडौं । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ ।
भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा सोमबार केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी छन् ।
प्रतिनिधिमण्डलस्तरीय बैठकअघि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।
त्यसअघि प्रधानमन्त्री शाहलाई हैदराबाद हाउसमा भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले शाहलाई न्यानो स्वागत गर्दै अंकमाल गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री शाह राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए ।
भ्रमणका क्रममा दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ । साथै, दुई देशबीच समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान गर्नुका साथै सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् । दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय गरिएको छ ।
भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ ।






