विपदको पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली आज परीक्षण गरिँदै, सतर्कता सन्देश आए नआत्तिन आग्रह

काठमाडौँ, ७ मङ्सिर । विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना तथा चेतावनी सन्देश पुर्‍याउने उद्देश्यले नेपालमै विकास गरिएको ‘सेल ब्रोडकास्टिङ सिस्टम’ (सिबिएस) को प्राविधिक परीक्षण गरिने भएको छ ।

गृह मन्त्रालयका अनुसार सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा सोमबार साँझ ५ः३० बजे प्रणालीको परीक्षण गर्न लागिएको हो ।

परीक्षणका क्रममा काठमाडौँका केही सीमित क्षेत्रमा मोबाइलमा सतर्कता सन्देश प्राप्त हुन सक्ने भएकाले त्यस्ता सन्देश देखिएमा नआत्तिन गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

परीक्षणको मुख्य उद्देश्य विपद्का बेला मोबाइल फोनमार्फत पूर्वसूचना प्रवाह गर्ने प्रणालीको प्राविधिक क्षमता र सन्देश प्राप्त हुने अवस्थाको परीक्षण गर्नु रहेको मन्त्रालयले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सेल ब्रोडकास्टिङ निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी पठाउन सकिने प्रविधि हो । यस प्रणालीको विशेषता भनेको सिमकार्ड वा इन्टरनेट सेवा नहुँदा पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुन सक्नु हो ।

सामान्य एसएमएस प्रविधिभन्दा फरक रहेको यस प्रणालीले नेटवर्कमा अत्यधिक चाप भएका अवस्थामा समेत छोटो समयमा ठूलो सङ्ख्यामा मोबाइल उपकरणमा सूचना पुर्‍याउन सक्छ । साथै, विपद्को जोखिम रहेको निश्चित क्षेत्रमा मात्र सन्देश पठाउन सकिने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गरी समयमै सचेत गराउन सहज हुनेछ ।

प्रारम्भिक परीक्षण सफल भएमा प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गरी विपद्को उच्च जोखिम रहेका क्षेत्रमा कार्यान्वयन गर्ने सरकारको योजना छ ।

यस प्रणाली सञ्चालनमा आएपछि बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रका नागरिकले समयमै चेतावनी प्राप्त गर्ने र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी तथा सुरक्षात्मक उपाय अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालको विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै दूरसञ्चार प्रविधिको माध्यमबाट नागरिकको सुरक्षा सुनिश्चित गर्न यो परीक्षणलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।