मनकामना केबलकार दुई करोड १२ लाखले चढे

चितवन । गोरखास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शनका लागि सञ्चालनमा रहेको मनकामना केबलकारबाट हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुले यात्रा गरेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–५ चेरेसमा तल्लो स्टेसन रहेको मनकामना दर्शन प्रालिले केबलकार सञ्चालनको सफल यात्रा पूरा गर्दै २९औँ वर्षमा प्रवेश गरेको जनाएको छ ।

प्रालिका अनुसार संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र स्थापनामा सुरु भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासको क्षेत्रमा अग्रणी उद्यमका रूपमा पहिचान स्थापित गरेको छ ।

विसं २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा आएको उक्त केबलकारको लम्बाइ ३ दशमलव ०२ किलोमिटर रहेको छ । केबलकारमार्फत नेपालीसँगै भारतीय तथा अन्य विदेशी पर्यटकले समेत मनकामना मन्दिरको दर्शन गर्दै आएका छन् ।

यस अवसरमा प्रालिले सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालयलगायत सम्पूर्ण शुभेच्छुकप्रति निरन्तर सहयोग र साथका लागि आभार व्यक्त गरेको छ ।

यात्रुको बढ्दो माग र सेवा, सुविधा तथा हितलाई ध्यानमा राख्दै प्रालिले पछिल्लो समय मन्दिरनजिकै मनकामना हिलक्रेस्ट रिसोर्टसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।