काठमाडौँ — जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनअनुसार खरिद प्रक्रिया अघि बढाउनुपर्ने भएकाले बोलपत्र रद्द गरिएको स्पष्ट पारेका हुन्।
रजौरियाका अनुसार संशोधित नियमावलीले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागत भएका जटिल प्रकृतिका संरचनाको खरिद प्रक्रियामा रेटेड प्वाइन्ट क्राइटेरिया (अङ्कभारमा आधारित मूल्यांकन विधि) अपनाउनुपर्ने व्यवस्था गरेको छ। यसअघि अघि बढाइएको औसत मूल्यमा आधारित मूल्यांकन विधिको तुलनामा नयाँ व्यवस्था बढी प्रभावकारी हुने उनको दाबी छ।
उनले रेटेड प्वाइन्ट क्राइटेरियामार्फत निर्माण व्यवसायीको प्राविधिक क्षमता, अनुभव, कार्यसम्पादन क्षमता तथा अन्य निर्धारित मापदण्डका आधारमा समग्र मूल्यांकन गर्न सकिने बताए। यसले आयोजनाको गुणस्तर कायम राख्न, निर्माण कार्य प्रभावकारी बनाउन, समयमै आयोजना सम्पन्न गर्न तथा सार्वजनिक खर्चको सदुपयोग सुनिश्चित गर्न सहयोग पुग्ने उनको भनाइ छ।
संशोधित व्यवस्थाअनुसार बोलपत्रसम्बन्धी कागजात तयार गरी पुनः प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउँदा भविष्यमा उत्पन्न हुन सक्ने कानुनी विवाद तथा प्रक्रियागत जटिलता न्यूनीकरण हुने पनि उनले समितिलाई जानकारी गराए।
महानिर्देशक रजौरियाले ठेक्का रद्द गर्ने निर्णय कुनै व्यक्ति वा पक्षविशेषको हितमा नभई कानुनको पालना, पारदर्शिता, प्रतिस्पर्धात्मक खरिद प्रणाली र सार्वजनिक हितलाई ध्यानमा राखेर गरिएको स्पष्ट पारे।
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रिया आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेपछि रद्द गरिएको थियो।
तर, टेन्डर प्रक्रियाका सम्पूर्ण चरण पूरा भइसकेपछि अन्तिम समयमा आएर ठेक्का रद्द गर्नु त्रुटिपूर्ण भएको दाबीसहित सार्वजनिक लेखा समितिमा उजुरी परेको छ। सोही उजुरीमाथि समितिको मंगलबारको बैठकमा छलफल भएको हो।





