सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई पुनः राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले १५औँ महाधिवेशनले आगामी चार वर्षका लागि राष्ट्रिय पुनर्जागरण र समुन्नतिको मार्ग तय गरेको बताए । सोही मार्गअनुसार पार्टीको नीति, विचार र भावी कार्यदिशा निर्धारण गरिने उनको भनाइ थियो ।

थापाले कांग्रेसले विगतको गौरवशाली इतिहासलाई आत्मसात् गर्दै नयाँ इतिहास निर्माण गर्ने सङ्कल्प गरेको उल्लेख गरे । राष्ट्रिय पुनर्जागरणलाई विगतको निरन्तरता, वर्तमानको सुधार र भविष्यको आकाङ्क्षासँग जोडेर अघि बढाइने उनले बताए ।

राज्य र नागरिकबीच कमजोर हुँदै गएको विश्वास पुनःस्थापित गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको स्वीकार गर्दै सभापति थापाले त्यसको गम्भीर समीक्षा गर्नुपर्ने बताए । स्पष्ट नीति र कार्यक्रमसहित जनताको विश्वास जितेर कांग्रेसलाई लोकप्रिय पार्टीका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो ।

उनले २०६२/६३ को जनआन्दोलनपछिका दुई दशकको राजनीतिक अवस्थाको समीक्षा गर्न आवश्यक रहेको पनि बताए । संविधान निर्माणपछि जनताका अपेक्षा र आकाङ्क्षा पूरा गर्ने सवालमा राजनीतिक दलहरू चुकेको उनको टिप्पणी थियो ।

सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनबाट प्राप्त गरेको जनादेशको सम्मान गर्दै पाँच वर्ष निर्बाध रूपमा सरकार सञ्चालन गर्न दिनुपर्ने धारणा व्यक्त गरे ।

कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने उल्लेख गर्दै उनले सरकारका राम्रा काममा सहयोग गर्ने र कमजोरी भए प्रश्न उठाउने बताए । आवश्यकताअनुसार सरकारलाई खबरदारी गर्ने र प्रतिरोधसमेत गरिने उनको भनाइ थियो ।

पार्टीको विधान कार्यान्वयनमा भने कुनै सम्झौता नहुने स्पष्ट पार्दै थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को राजनीतिक दलको सदस्यता लिने जनप्रतिनिधिले सम्बन्धित पदबाट राजीनामा दिनुपर्ने बताए । राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को दलको सदस्यता लिनेहरूलाई विधानअनुसार कारबाही गरिने उनले स्पष्ट पारे ।

सभापति थापाले आगामी पुस १५ गतेभित्र जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई अनुरोध गरिएको जानकारी दिए । बैठकमा स्थानीय तह निर्वाचनको प्रारम्भिक तयारी र पार्टीको आगामी राजनीतिक कार्यदिशाका विषयमा समेत छलफल हुने उनले बताए ।