काठमाडौं । काठमाडौं महानगरपालिकाले ६ जना मासु निरीक्षक नियुक्त गर्ने भएको छ। महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअन्तर्गत दैनिक ज्यालादारीमा काम गर्ने गरी मासु निरीक्षक पदका लागि दरखास्त आह्वान गरेको हो।
महानगरपालिकाले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि उक्त जनशक्ति नियुक्त गर्न लागेको जनाएको छ।
सूचनाअनुसार मासु निरीक्षक पदका लागि ६ जना माग गरिएको छ। उक्त पदमा आवेदन दिन इच्छुक नेपाली नागरिकले पशु चिकित्सा विषयमा बीभीएस्सी एन्ड एएच (B.V.Sc. & A.H.) उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नेपाल पशु चिकित्सा परिषद्बाट प्राप्त लाइसेन्स अनिवार्य गरिएको छ।
नियुक्त हुने कर्मचारीको कार्य अवधि १४४ कार्यदिन रहनेछ भने पारिश्रमिक स्वीकृत दररेटअनुसार उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ।
दरखास्त दिन इच्छुक उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाल पशु चिकित्सा परिषद्को लाइसेन्स र व्यक्तिगत विवरण (सीभी) को प्रतिलिपि पेस गर्नुपर्नेछ।
दरखास्त सूचना प्रकाशित भएको मितिले सात दिनभित्र काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयअन्तर्गत कृषि तथा पशुपन्छी विभागमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
महानगरपालिकाले योग्य नेपाली नागरिकलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित दरखास्त पेस गर्न आग्रह गरेको छ।







