काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को मर्यादाक्रममा परिवर्तन गरिएको जनाएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठन भएको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको हो।
१७ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन्।
नयाँ मर्यादाक्रमअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो, कानुनमन्त्री सोविता गौतम तेस्रो, परराष्ट्रमन्त्री शिशिर खनाल चौथो र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ स्थानमा रहेका छन्। यसअघि सातौँ वरीयतामा रहेकी गौतमको मर्यादाक्रम तीन स्थान माथि उक्लिएको छ।
त्यस्तै, सुधन गुरुङ गृह मन्त्रालयसहित छैटौँ, सुनिल लम्साल पूर्वाधार विकास मन्त्रालयसहित सातौँ र महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयसहित आठौँ वरीयतामा रहेका छन्।
अन्य मन्त्रीहरूको जिम्मेवारीअनुसार सीता बादीले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, प्रतिभा रावलले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निशा मेहताले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालय सम्हालेका छन्।
यसैगरी खडक राज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिनालाई सूचना तथा सञ्चार, गीता चौधरीलाई कृषि, वन तथा पर्यावरण, दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति तथा रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ।







