काठमाडौँ– ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
बिहीबार काठमाडौँ जिल्ला अदालतले ईनमसँगै महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
काठमाडौँ जिल्ला अदालतका एक अधिकृतले तीनै जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको पुष्टि गरेका छन्।
ईनमसँगको सम्बन्ध र सम्पर्क देखिएपछि श्रेष्ठ र भट्ट पक्राउ परेका थिए। श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।
प्रहरीले ईनमविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतका कसुरमा अनुसन्धान गरिरहेको छ। त्यस्तै, श्रेष्ठ र भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनमलाई पक्राउ गरेको थियो।






