युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपका कुनै पनि क्षेत्रमा सैन्य आक्रमण नगर्न आग्रह गरेको बताएका छन्। गत साता चीनमा भएको भेटका क्रममा आफूले पुटिनसँग यस विषयमा कुराकानी गरेको ट्रम्पको भनाइ छ।

ट्रम्पले बिहीबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुस र युक्रेनबीच चाँडै शान्ति सम्झौता हुने बलियो सम्भावना रहेको दाबी गरेका छन्। यद्यपि, युरोपको कुन क्षेत्रमा सैन्य गतिविधि नगर्न आफूले पुटिनलाई आग्रह गरेको भन्नेबारे उनले खुलाएका छैनन्।

फ्लोरिडामा नेटोका महासचिव मार्क रुटसँगको भेटपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। भेटपछि दुवै नेताले रुसलाई युक्रेन युद्ध थप विस्तार नगर्न आग्रह गर्दै संयुक्त वक्तव्य जारी गरेका थिए।

गत साता नेटो सदस्य राष्ट्र पोल्यान्डमा तीनवटा रुसी क्रुज क्षेप्यास्त्र खसेपछि युरोपेली मुलुकहरू रुसको सैन्य गतिविधिप्रति थप सतर्क बनेका छन्।

यसैबीच, ट्रम्पले रुसको भित्री क्षेत्रमा युक्रेनले गरेको आक्रमणको आलोचना गरेका छन्। तर, उनले युक्रेनलाई सैन्य कारबाहीमा संयम अपनाउन भने आग्रह गरेका छैनन्। आफ्नो पहिलो कार्यकालमा युक्रेनलाई ज्याभलिन क्षेप्यास्त्र बिक्री गर्न अनुमति दिएको स्मरण गर्दै त्यसले रुसी आक्रमणबाट युक्रेनलाई जोगाउन सहयोग पुगेको उनको दाबी छ।

उता, ट्रम्पका ज्वाइँ तथा युक्रेन मामिलासम्बन्धी अमेरिकी दूत जारेड कुसनरले रुसी राष्ट्रपति पुटिनले आणविक हतियार प्रयोग नगर्ने प्रतिबद्धता जनाएर संयम देखाएको बताएका छन्। बुधबार जर्मन एमडी मिट्स पोडकास्टसँगको अन्तर्वार्तामा उनले युक्रेन युद्धलाई युरोपले युक्रेनलाई आर्थिक तथा सैन्य सहयोग उपलब्ध गराएर रुसविरुद्ध लडिरहेको प्रोक्सी युद्धका रूपमा व्याख्या गरेका थिए।

पूर्वी युक्रेनका भूभागसम्बन्धी विषयमा पुटिनसँगको वार्ता गतिरोधमा रहेको स्वीकार गर्दै कुसनरले युद्ध थप चर्किन सक्ने चेतावनीसमेत दिएका छन्। द्वन्द्व व्यापक रूपमा विस्तार हुन धेरै गलत आकलन आवश्यक नपर्ने उनको भनाइ छ।

ट्रम्पले आगामी महिना मियामीमा आयोजना हुने जी–२० शिखर सम्मेलनमा पुटिन सहभागी हुने वा नहुने निश्चित नभएको बताएका छन्। पुटिन सहभागी हुन चाहेमा स्वागत गरिने पनि उनले स्पष्ट पारेका छन्।

गत साता चीनको सेन्जेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटका क्रममा ट्रम्पले पुटिनलाई मित्रका रूपमा स्वागत गरेका थिए। त्यसयता ट्रम्प रुसप्रति नरम बन्दै गएको भन्दै युक्रेन र युरोपेली मुलुकहरूमा चिन्ता बढेको छ।