काठमाडौं । नरेश श्रेष्ठ स्मृति राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगितामा लुम्बिनी र मधेश प्रदेशले जित निकालेका छन् । शुक्रबार धनगढीमा सम्पन्न खेलमा लुम्बिनीले कर्णालीलाई १४५ रनले तथा मधेशले गण्डकीलाई ७ विकेटले पराजित गरेका हुन् ।
लगातार दोस्रो जित दर्ता गर्ने क्रममा लुम्बिनीले कर्णालीमाथि फराकिलो जित निकालेको हो । लुम्बिनीले दिएको २२३ रनको लक्ष्य पछ्याएको कर्णाली २३ ओभर २ बलमा ७८ रनमै समेटियो ।
कर्णालीका लागि नवीन न्यौपानेले सर्वाधिक २८ रन बनाए । नमनसिंह थापाले १५, ललितजंग शाहीले १३ र विपिनप्रसाद शर्माले १५ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका दिनेश बोहरा र प्रिन्स पालले समान ३ विकेट लिए । लक्ष्मण कुमालले २ तथा करण जिएमले १ विकेट हात पारे ।
त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २२२ रन बनाएको थियो । उसका लागि समिर अली मुसलमानले अर्धशतकीय पारी खेल्दै ७० बलमा ७ चौका र २ छक्कासहित ५२ रन बनाए ।
क्षितिज थापामगरले ३०, केशव विष्टले २०, प्रिन्स पालले २० र दिनेश बोहराले १८ रनको योगदान दिए ।
कर्णालीका नवीन न्यौपानेले ३ विकेट लिए । कैलाश खड्का, निराजन कठायत र विपिनप्रसाद शर्माले समान २ तथा मौसम थापाले १ विकेट लिए ।
लुम्बिनीले यसअघि आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ४१ रनले पराजित गरेको थियो ।
शुक्रबारकै अर्को खेलमा मधेश प्रदेशले गण्डकीलाई ७ विकेटले हरायो । गण्डकीले दिएको १२१ रनको लक्ष्य मधेशले १५ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
मधेशको जितमा ओपनर सुशान्त सिंहले सर्वाधिक ५४ रन बनाए । उनले ३६ बलमा उक्त रन बनाएका हुन् । परिमार्जन यादवले ३० रन जोड्दा विशाल क्षेत्री २३ र अनिलकुमार यादव ८ रनमा अविजित रहे ।
गण्डकीका प्रकाश खनालले २ तथा सुशिल भुसालले १ विकेट लिए ।
त्यसअघि महेन्द्रनगरस्थित कभर्ड हल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी ४४ ओभर १ बलमा १२० रनमा अलआउट भएको थियो ।
गण्डकीलाई कम स्कोरमा रोक्ने क्रममा मधेशका विशाल क्षेत्रीले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा ६ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिए । राहुल यादव र आशिक वैद्यले समान २ तथा नुमैर अहमदले १ विकेट लिए ।
गण्डकीका राज परियारले सर्वाधिक २३ रन बनाउँदा स्पर्श तामाङले २१, अनिकेत गजुरेलले १२ र घनश्याम यादवले १२ रन जोडे ।
प्रतियोगिताअन्तर्गत शनिबार कर्णाली र सुदूरपश्चिम तथा कोशी र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
सात प्रदेश सहभागी प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन भइरहेको छ । लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।






