झापाको ८६ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमामा आवद्ध

झापा । झापामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या ८ लाख ५७ हजार १९९ पुगेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाको कुल जनसङ्ख्याको ८६ प्रतिशत नागरिक स्वास्थ्य बिमाको दायरामा आएका हुन् ।

सरकारले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज र समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत पाँच जनासम्म सदस्य भएको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ शुल्क तिरेर एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्छन् ।

स्वास्थ्य बिमा बोर्डकी जिल्ला प्रमुख लक्ष्मी कँडेलका अनुसार हालसम्म झापाका २ लाख १७ हजार ५२७ परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् । बिमामा ५३ हजार १४२ ज्येष्ठ नागरिक, १२८ कुष्ठरोग प्रभावित, ७४४ एचआईभी सङ्क्रमित, ३ हजार १९१ अपाङ्गता भएका व्यक्ति र ५९० महिला स्वास्थ्य स्वयंसेविकासहित लक्षित तथा संवेदनशील वर्गका नागरिक पनि समेटिएका छन् ।

बिमामार्फत उपचार सेवा उपलब्ध गराउन जिल्लाका २७ वटा स्वास्थ्य संस्था सूचीकृत छन् । तीमध्ये पाँचवटा आँखा अस्पताल, सातवटा रेफरल अस्पताल र १५ वटा प्राथमिक सेवा प्रदायक संस्था रहेका छन् ।

झापाका १५ स्थानीय तहमध्ये दमक नगरपालिकामा स्वास्थ्य बिमामा आबद्ध हुनेको अनुपात सबैभन्दा बढी छ । त्यहाँ कुल जनसङ्ख्याको ११४ प्रतिशत नागरिक बिमामा आबद्ध रहेको बोर्डले जनाएको छ । दमकमा बसोबास गर्ने भुटानी शरणार्थीसमेत बिमा कार्यक्रममा समेटिएकाले यो अनुपात बढी देखिएको हो ।

त्यस्तै, भद्रपुर, गौरादह, हल्दिबारी, कमल र कनकाई नगरपालिकामा स्वास्थ्य बिमा आबद्धता दर ९० प्रतिशतभन्दा माथि छ । सबैभन्दा कम झापा गाउँपालिकामा ४८ प्रतिशत नागरिक मात्रै बिमामा समेटिएका छन् ।

पाँच जनाभन्दा बढी सदस्य भएको परिवारका लागि प्रत्येक थप सदस्यबापत ७०० रुपैयाँ प्रिमियम शुल्क निर्धारण गरिएको छ । यस्तो परिवारले अधिकतम दुई लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा पाउने व्यवस्था छ ।

स्वास्थ्य बिमा सेवाको उपयोग तथा उपचार खर्च दाबीमा देखिएका अनियमितता नियन्त्रण गर्न सरकारले नयाँ प्रावधानसमेत लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार बहिरङ्ग (ओपीडी) सेवामा वार्षिक अधिकतम २५ हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाइनेछ । बाँकी रकम अस्पताल भर्ना, आकस्मिक उपचार र शल्यक्रियालगायत गम्भीर तथा अत्यावश्यक सेवाका लागि प्रयोग गर्न सकिनेछ ।

बोर्डका अनुसार स्वास्थ्य बिमामार्फत हाल एक हजार २९० प्रकारका औषधि उपलब्ध गराइँदै आएको छ । यसैगरी, मङ्सिरदेखि सेवाग्राहीले भौतिक बिमा कार्ड बोक्नुपर्ने झन्झट पनि हटाइएको छ । अब नागरिक एपमा उपलब्ध डिजिटल बिमा कार्ड देखाएर सूचीकृत अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने व्यवस्था गरिएको छ ।