अज्ञात व्यक्तिको छुरा प्रहारबाट घाइते भएका युवकको मृत्यु

कात्तिक १५, काठमाडौं ।
राजधानीको धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा घाइते भएका एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृतकमा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगर छन् । उनको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले एक्कासी छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनको चिरायु अस्पतालमा उपचार भइरहेको थियो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।