कात्तिक १५, काठमाडौं ।
ताइवानमा पछिल्लो दुई सय दिन यता एक जना पनि आन्तरिक कोरोना संक्रमित भेटिएका छैनन् । झन्डै ६ महिना यता बाहिरबाट आएका संक्रमित देखिए पनि आन्तरिक रूपमा सरेर संक्रमित भएकाहरुको संख्या शून्य रहेको छ ।
विश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको भए पनि ताइवानमा भने अहिलेसम्म पाँच सय ५० जना मात्रै संक्रमित भेटिएका थिए । त्यसैगरी कोरोना भाइरसका कारण ताइवानमा अहिलेसम्म सात जनाको मात्रै मृत्यु भएको छ ।
ताइवानको जनसंख्या झण्डै दुई करोड ३० लाख छ । ताइवानमा सबैभन्दा पछिल्लो संक्रमित गत अप्रिलको १२ तारिखका दिन भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सफल देशको रूपमा ताइवानलाई लिन थालिएको छ ।
चिकित्सा सम्बन्धी अष्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय मेडिकल सेन्टरका प्राध्यापक पिटर कोलिग्ननले कोरोना महामारीको राम्रो व्यवस्थापन गर्नेमा ताइवान विश्वमै सबैभन्दा अगाडि रहेको दाबी गरे । प्रतिवेदनहरुका अनुसार ताइवान सन् २०२० मा लगातार आर्थिक वृद्धि गर्ने थोरै देशहरुको सूचीमा पनि रहेको छ ।
महामारीको चर्चा थाहा पाउनासाथ आवतजावत गर्ने र भिडभाड गर्नेहरुलाई रोक्ने गरी प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएकाले संक्रमण फैलिन नपाएको उनको भनाई छ । यस्तो व्यवस्था जनवरीमै लागु गरिएको थियो । साथै ताइवानले शुरुदेखि नै सीमा नाकामा पनि कडाइ गरेको थियो ।
ताइवानमा विद्युतीय माध्यमबाट शंकास्पद व्यक्तिहरुको ट्रयाकिङ गरिएको र शंका लागेका व्यक्तिहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था कडाइका साथ लागु गरिएको छ । (एजेन्सी)







