बेलायतमा एक महिनाका लागि लकडाउन घोषणा

कात्तिक १६, काठमाडौं ।
बेलायतले दोस्रो पटक बन्दीबन्दी (लकडाउन)को घोषणा गरेको छ ।

शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार साताका लागि बन्दाबन्दीको घोषणा गरेको बताएका छन् । यसअघि यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो ।

यो पटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द हुने छैनन् । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताइएको छ ।

हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–अवे पसलहरू भने खुल्ने बताइएको छ । पछिल्लो पटक कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन साताको छलफलपछि त्यहाँको सरकार लकडाउन गर्ने निष्कर्षमा पुगेको हो ।

आगामीे डिसेम्बर २ तारिखपछि बन्दाबन्दी अलि खुकुलो हुने र सबै काममा फर्कन सजिलो हुने बताइएको छ । (रासस)