खाद्यका नमुना परीक्षणका लागि धनगढी पठाइयो

कात्तिक १६, बैतडी ।
बजार अनुगमनका क्रममा बैतडीमा सङ्कलन गरिएका खाद्यका २७ नमूना परीक्षणका लागि धनगढी पठाइएका छन् ।

खान अयोग्य देखिएका नमूनाहरूलाई परीक्षणका लागि धनगढी पठाइएको र नमूना प्रतिकूल आए खाद्य ऐनबमोजिम कारवाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए ।

‘असोजको पहिलो सातादेखि बैतडीमा गरिएको बजार अनुगमनका क्रममा २७ ओटा नमूना सङ्कलन गरिएका छन् । ती खाद्य वस्तुका नमूनाको प्रयोगशालामा गुणस्तर परीक्षण गरिन्छ र गुणस्तरीय नपाइए कारवाही हुन्छ’, उनले भने ।

यसअघि चार ओटा नमूना गुणस्तरीय नपाइएकाले कारवाहीको प्रक्रियामा रहेको लेखकले जानकारी दिए । असोजभन्दा पहिले सङ्कलन गरिएका १५ नमूनामध्ये चार ओटा तोकिएको मापदण्डानुसार पाएको थिएन ।

उनले भने, ‘दुई व्यवसायीमाथि जिल्ला प्रशासन कार्यालय बैतडीमा मुद्दा दायर गरिएको छ र अन्य दुई अनुसन्धानको क्रममा छन् ।’