कात्तिक १६, काठमाडौं ।
जिल्लामा गत असोज पहिलो साताबाट गरिएको बजार अनुगमनका क्रममा रु सात लाख ७० हजारको म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको छ ।
संयुक्त बजार अनुगमन समितिले गत महिना विभिन्न बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो । असोज पहिलो सातादेखि असोज अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको थियो ।
उपभोग्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति नहेर्ने गरेका कारण बजारमा म्याद नाघेका सामग्रीसमेत बिक्री वितरण भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए । उनले भने, ‘म्याद नाघेका सामग्रीका बारेमा न व्यापारीहरुले हेर्ने गरेका छन् न उपभोक्ताले नै । बजारमा म्याद नाघेका सामग्री बिक्री वितरण भइरहेका छन् ।’
बजार अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने प्रत्येक पसलमा मूल्यसूची राख्नसमेत आग्रह गरिएको छ । चाडपर्वलाई लक्षित गरेर अनुगमन गरिएको भए पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ताहरुले बताएका छन् । (रासस)







