पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

कात्तिक १८, पर्वत ।
पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।

नयाँपुलबाट घोरेपानीसम्मको २८ किलोमिटर वैकिल्पक पदमार्गको निर्माण सम्पन्न हुने अवस्थामा छ । नयाँपुलबाट देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदमार्ग निर्माणको काम चलिरहेको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ७० लाखको बजेटबाट दुई वर्षअघि निर्माणको काम थालेको पदमार्ग अन्तिम चरणमा पुगेको मोदी गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा सङ्घ सरकारको समेत रु १० लाख बजेट पदमार्गमा खर्च भएको थियो ।

निर्माण सम्पन्न भएकोमध्ये १७ किलोमिटर पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । अहिले खोलिएको पदमार्गबाट प्रसिद्ध पर्यटकीयस्थल भमरकोटसम्म पुग्न सकिन्छ ।

देउपुरका स्थानीय मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीन नयाँपुल–देउपुर–भमरकोट–घोडेपानी पदमार्ग अब एक वर्षभित्र बनाइसक्ने लक्ष्य रहेको छ । अहिलेसम्म १७ किलोमिटर पदमार्गको काम सकिएको र अझै ११ किलोमिटरको काम अन्तिम चरणमा पुगेको खड्काले बताए ।

‘प्रदेश सरकारबाट गत वर्ष बजेट आउन सकेन । सङ्घबाट छुट्टिएको रु १० लाखले थप काम भएको छ,’ उनले भने, ‘सङ्घ र प्रदेशले आवश्यक बजेट विनियोजन गरे एक वर्षभित्रमै काम सकिनेछ ।’ पदमार्गमा झण्डै साढे दुई करोड रूपैयाँ खर्च हुने अनुमान छ । पदमार्गमा स्थानीय सीप, प्रविधि र सामग्रीको प्रयोग गरिएको छ ।

अर्कोतर्फ देउपुर हुँदै भमरकोटबाट माटेको लेकसम्मको ११ किलोमिटर पदमार्गले जोडिसकिएको छ भने माटेबाट जलजला हँुदै घोरेपानी जोड्न अब करिब ११ किमी दूरी बाँकी छ । जङ्गल र भिरको बाटोमा जोखिम मोलेरै भए पनि काम गरिरहेको खड्काले बताए ।

थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन । पदमार्गले आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । ठूला घाँसेमैदान, दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । (रासस)