कात्तिक १८, भक्तपुर ।
चाँगुनारायण नगरपालिका–९, ताथलीमा नगरपालिकाकै पहिलो व्यायाम पार्क बन्ने भएको छ । बढ्दो शहरीकरणले खुला स्थान तथा खेलमैदानको अभाव हुन थालेपछि सर्वसाधारणलाई नियमित शारीरिक व्यायाम गर्न सहज होस् भन्ने हेतुले ताथलीमा खेलमैदानसँगै व्यायाम पार्क बन्न लागेको हो ।
ताथलीको सौडोलको करिब चार रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा करिब रु पाँच लाखको लागतमा व्यायाम पार्क बन्न लागेको हो । यसका लागि चाँगुनारायण–९ ले बजेट विनियोजन गरेको छ । पार्क निर्माणका लागि गत आर्थिक वर्ष २०७६÷०७७ मा बजेट विनियोजन गरिएको थियो ।
बजेट विनियोजन भए पनि पार्क निर्माणका लागि उपभोक्ता समिति गठनसँगै पार्कको काम अघि बढाउने क्रममा लकडाउनका कारण रोकिएको थियो । सोही योजनाको कामले अहिले गति लिएको हो ।
पार्कमा हात, पाखुराका लागि, कम्मर दुखाइका लागि, खुट्टा दुखेको, पेटको तौल घटाउने र सामान्य खेलकुदका उपकरण जडान गरिने छ । युवा तथा ज्येष्ठ नागरिकका लागि लक्षित गर्दै निर्माण हुन लागेको पार्कमा जडान गरिएको उपकरणमा शारीरिक व्यायाम गर्न सकिने र त्यसले शारीरिकरूपमा स्र्फूत रहन सहयोग पुग्ने भएकाले व्यायाम पार्क निर्माणको योजना बनाएको वडाध्यक्ष गणेश त्यातले बताए ।
पार्क निर्माणका लागि सार्वजनिक जग्गा सम्याउने काम थालिएको उपभोक्ता समितिका अध्यक्ष विकास बासुकलाले बताए । ‘व्यायाम पार्क बनाउने योजना गत वर्षकै हो । लकडाउनका कारण पार्कका लागि आवश्यक सामानहरु चीनबाट ल्याउनु पर्ने हुँदा समस्या भएको थियो । लकडाउन खुलेसँगै हामीले चीनबाट उपकरण ल्याएका छौँ । अब पार्क छिट्टै बन्छ,’ पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बासुकलाले भने ।
उनले भक्तपुर नगरपालिकाका विभिन्न टोलमा व्यायाम गर्ने सामानहरु जडान गरी पार्क बनाइएको र पार्कमा बालबालिकादेखि वृद्धवृद्धासम्मले अभ्यास गरेको देखेपछि ताथलीमा पनि सो किसिमको पार्कको महसुस स्थानीयवासीले गरेको बताए ।
उनले भने, ‘अहिलेको बदलिँदो जीवनशैलीको कारण नसर्ने रोग, हाडजोर्नीको दुखाइ, नसासम्बन्धी रोगहरू बढ्दो छ । शारीरिक श्रमको कमीले निम्त्याएका रोग निर्मूलका लागि व्यायामको आवश्यकता महसुस गरी व्यायाम पार्क बनाउन लागेका हौँ ।’ (रासस)







