आधुनिक चाउचाउ उद्योगका पिताः राजनीति र समाजसेवा साथसाथ


कात्तिक, १८ पोखरा । दक्षिण एशियामै पहिलोपल्ट नेपालमा आधुनिक चाउचाउ उद्योग खोलेर पोखरामा औद्यागिक गति प्रदान गर्ने पोखराका प्रतिष्ठित उद्योगपति सूर्यबहादुर केसी मोफसलबाट राष्ट्रियस्तरको छवि बनाउन सफल व्यक्तित्व थिए । केसी राजनीति र समाजसेवामा समेत उत्तिकै परिचित नाम हो । उनकोे सोमबार साँझ ६५ वर्षका उमेरमा निधनसँगै यहाँका व्यवसायी एवं राजनीतिककर्मीलगायतले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी ‘सीताराम’ एक कर्मठ र मेहनती तथा कुनै पनि अवसर आफ्नो हातबाट फुत्कन नदिने निकै चलाख दिमागको व्यक्ति रहेको बताए । “उनी निकै मेहनती थिए, कुनै पनि अवसरलाई आफ्नो हातबाट गुम्न दिँदैनथे । नयाँ कामप्रति संग्लग्न हुन उनको रुचि थियो, उनले पोखरामा आधुनिक चाउचाउ उद्योग सञ्चालन गरेर व्यवसायमा पनि आफूलाई सफल सावित गरे”, उनले भने।

केसीलाई एकै समयमा धेरै कुरा सोच्न सक्ने क्षमताका रुपमा आफूले पाएको उनको अनुभव छ । केसी तत्कालीन समयमा प्रधानपञ्च उत्तम पुनका गलत क्रियाकलापविरुद्ध अभियान शुरु गरेर राजनीतिमा आएको मुल्मी बताउछन्र ।

“केसीले उत्तम पुनविरुद्ध अभियान थाले, प्रधानपञ्चमा उम्मेदवारी प्रस्तुत गरेर जिते, त्यसपछि उनको राजनीतिमा प्रवेश भयो”, उनले भने। मुल्मीका अनुसार केसीले तत्कालीन समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष भई सक्रिय रहेर राजनीतिक छवि बनाएका थिए। सशस्त्र द्वन्द्वको समय २०५६÷५७ मा अनेक धम्कीपूर्ण चेतावनी उहाँले खप्नुपरेको थियो ।

विविध कठिनाइसँग जुध्दै उनी आक्रामक रुपमा राप्रपाको राजनीतिमा सक्रिय रहेका थिए । केसी पहिलो संविधानसभाको सदस्य बन्नुभयो र पछिल्लो कालखण्डमा राप्रपा परित्याग गरेर नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बनेर प्रतिनिधिसभा सदस्य बनेका थिए ।

प्रतिनिधिसभा सदस्य विद्या भट्टराई केसीलाई एक सफल व्यवसायी, राजनीतिज्ञ एक अग्रज समाजसेवीका रुपमा आफूले चिनेको बताए। भट्टराईले आफू निर्वाचित भएपछि उनले आफूलाई बधाई दिएको स्मरण गर्दै भने “पोखराको एक सफल र अग्रज व्यक्तित्व सूर्यबहादुर केसी दाजुलाई भेट्ने र उनका व्यावसायिक एवं राजनीतिक अनुभव सुन्ने इच्छा थियो तर त्यो अवसर नआउँदै उहाँको निधनको खबरले स्तब्ध बनायो ।” भट्टराईले कोरोनाका कारण उनलाई भेट्ने अवसर गुमाएको बताए ।

केसीले रवीन्द्र अधिकारीलाई बेलाबेला फोन गर्ने र आफ्ना राजनीतिक अनुभव सुनाउने तथा राजनीतिमा अघि बढ्न प्रेरणा र हौसला प्रदान गर्ने गरेको स्मरण गरे । उनले पछिल्लो पटक महिला समितिको आयोजनामा आप्रावासी श्रमिक व्यवस्थापनका विषयमा भएको भर्चुअल कार्यक्रमा उनलाई देखेको र उनको स्वास्थ्यलाभ गरेको बताए ।

राप्रपा कास्कीका अध्यक्ष डा महेन्द्रबहादुर कार्कीले केसीलाई प्रतिष्ठित उद्योगपति, समाजसेवी र अत्यन्त मिलनसार स्वभावका असल व्यक्तित्वका रुपमा आफूले लिने गरेको बताए । उनले भने, “राष्ट्रिय उद्योगपतिका रुपमा स्थापित केसी कास्कीको एक गहना हुनुहुन्थ्यो, पार्टीको स्थापनाकालदेखि उनकै मार्गनिर्देशनमा धेरै काम गरेको र अनुभव मसँग छ, उहाँ बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो ।” कार्कीका अनुसार केसीमा विचार र आस्थाले कुनै एक पार्टीको जिम्मेवारीमा भए पनि महिल, बालबालिका, युवा, ज्येष्ठ नागरिक सबैको हितमा सोच्ने र सहयोगका लागि तत्पर हुने सामाजिक भावनाको एक विशेष गुण थियो । केसीका तीन छोरा प्रकाश, किरण र रोशन केसी छन् । परिवारका अनुसार उनको केही वर्षअघि दिल्लीमा मिर्गौलाको उपचार गरिएको थियो भने मधुमेह र उच्च रक्तचापको रोग थियो ।

पोखरामा उद्योगको स्थापना

सूर्यबहादुर आफ्ना पिता कीर्तिबहादुरबाट व्यवसाय क्षेत्रमा प्रभावित भएका थिए । उनका पिताले स्याङ्जा र पोखराका बाटाको निर्माणको जिम्मा लिनुभएको थियो ।

पोखराको फेवातालको बाँध निर्माणदेखि लिएर सडक र भवनको काम उनले गरेका थिए । यसैको प्रभाव र अनुभव केसीले बटुल्दै जानुभएको थियो । केसीले पोखरामा आधुनिक चाउचाउ उद्योग खोल्नका लागि साझेदारीसमेत गर्नुभएको थियो । गण्डकी नूडल्समार्फत सिन्के चाउचाउ उत्पादन गरेका व्यवसायी फणीन्द्रमान श्रेष्ठ र कृष्ण आचार्यको समूहसँगको साझेदारीमा विसं २०२३ असारमा रारा चाउचाउ उत्पादन शुरु गरिएको थियो ।

गण्डकी नूडल्सबाट रारा चाउचाउ हिमश्री फुड्समार्फत उत्पादन हुन थालेको थियो । विसं २०३० मा केसी कन्स्ट्रक्सन नामकरण गरेर निर्माण व्यवसायको यात्रालाई थप गति प्रदान गरे । केसीले यससँगै जलविद्युत्, निर्माण व्यवसाय, हाउजिङ, बैंक र हस्पिटालिटी क्षेत्रलाई पनि स्थापित गराउन सफल भए ।

केसी समूहअन्तर्गत हिमालयन गल्फ कोर्स, केसी हाउजिङ, नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ कलेज र कालिका मल्टिप्रपोज कलेजमा लगानी छ । केसी गु्रपको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा पनि लगानी रहेको छ । बैंक तथा वित्तीय संस्थाबाहेक केसी गु्रपअन्तर्गतका कम्पनी र उद्योगमा करीब एक हजारभन्दा बढीले रोजगारी पाएका छन् ।