सर्वोच्च अदालतमा सुरक्षा कडा, इजलासमा सबैलाई भाइजर र मास्क अनिवार्य

कात्तिक १९, काठमाडौं ।
कोरोना महामारी फैलनबाट रोक्न सर्वोच्च अदालतले विभिन्न सुरक्षा उपायसहित इजलास सञ्चालन गरिने जनाएको छ ।

मंगलबार सूचना जारी गर्दै सर्वोच्चले अदालत सञ्चालन हुँदा त्यहाँबाट कोरोना संक्रमण फैलन नदिन सुरक्षासहित सेवा प्रवाह गर्ने जनाएको हो । ‘इजलासमा उपस्थित हुने पक्ष, कानून व्यवसायी, इजलास अधिकृत लगायत सम्बन्धित सबैले अनिवार्य रुपमा मास्क लगाउने, मास्क नहटाइ बहस गर्ने र सम्भव भएसम्म प्लास्टिक भाइजरसमेत लगाउने,’ सूचनामा उल्लेख छ ।

सर्वोच्चले पहिलेजसरी नै सेवा प्रवाहमा संकुचन कायम राखेको छ । बन्दीप्रत्यक्षीकरण, सरकावादी पुनरावेदनको सुनुवाइ, मुद्दा फिर्ता तथा मिलापत्र गरिने जस्ता सीमित सेवा मात्र दिइने सूचनामा उल्लेख छ । अवस्था हेरी मंसिर २ गत्तेदेखि सेवा केही सहज बनाइने बताइएको छ ।

बहसका क्रममा पक्ष–विपक्षका एक÷एक जना मुख्य कानून व्यवसायी र उनीहरूका एक÷एक जना सहयोगी मात्र इजलासमा उपस्थित हुन पाउनेछन् । बढी कानून व्यवसायी भए इजालसमा उपस्थित भएकाहरूमार्फत बहस नोट पेश गर्नुपर्नेछ ।

साथै बिहान ९ बज्नुअगाडि नै पेशी स्थगित वा मुद्दाका लागि आवश्यक सबै कागजात सर्वोच्चको इमेलमासमेत पठाउन सकिने सूचनामा उल्लेख छ । बहस भइरहेको मुद्दाबारे मूल भवन वा इजलासबाहिरैबाट सम्बन्धितले जानकारी लिन सक्नेछन् ।

आफ्नो पालो आएको जानकारी गराइएपछि मात्र मुद्दासम्बन्धित व्यक्तिहरूले इजलासमा प्रवेश पाउनेछन् । इजलासमा भीडभाड हुन नदिन यस्तो व्यवस्था मिलाइएको हो ।

‘निश्चित दुरीसहित मास्कसमेतको प्रयोग गरी बहस पैरवी गर्दा आवाज कम हुनसक्ने अवस्थालाई मध्यनजर गरी इजलासमा बहसको लागि राखिएको पोडियममा माइकको व्यवस्था गर्ने,’ उपरजिष्ट्रार देवेन्द्र ढकालद्वारा जारी सूचनामा भनिएको छ ।