दुई बजे नै बन्द हुन्छ भद्रवास आयुर्वेद औषधालय

कात्तिक १९, काठमाडौं ।
कागेश्वरी मनोहरा नगरपालिका–३ स्थित भद्रवासमा रहेको आयुर्वेद औषधालय दुई बजे नै बन्द हुने गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण चुलिए पनि औषधालय भने नखुल्ने गरेको स्थानीयवासीको गुनासो छ ।

सङ्घीय संरचनाअनुसार स्थानीय तह मातहत रहने कार्यालय नखुल्दा आयुर्वेदिक उपचार पाउनबाट वञ्चित हुनुपरेको डाँछीबाट उपचार गर्न पुगेका रामबहादुर श्रेष्ठले गुनासो गरे । औषधालयमा नजिकैको गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकाबाट समेत बिरामी उपचार लिन आउने गरेका छन् ।

वडा कार्यालयसँगै रहेको औषधालय दुई बजे नै बन्द भएको सम्बन्धमा जिज्ञासा राख्दा वडाध्यक्ष राममणि पुडासैनी औषधालयमा कार्यरत छैटौँ तहका कविराजलाई नगरपालिकामा आयुर्वेद शाखा स्थापनाका लागि लैजाँदा तीन कर्मचारीको भरमा चलेको बताए । औषधालय हाल पाँचौँ तहका कविराज र दुई जना कार्यालय सहयोगीका भरमा चलेकाले दुई बजेपछि बिरामी उपचारका लागि नआउने हुँदा कहिलेकाहीँ छिट्टै बन्द हुने गरेको उनको भनाइ छ ।

कोरोनाबाट बच्न रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधि उपयोगी सिद्ध भएको भनी सम्बन्धित क्षेत्रका विज्ञको विचारको प्रचारप्रसार भएसँगै औषधालयमा धाउनेको सङ्ख्या बढे पनि बन्द हुँदा उनीहरू निराश भएर फर्कने गरेका छन् ।

औषधालय दुई बजे नै बन्द हुने गरेको सेवाग्राहीको गुनासोपछि मङ्गलबार सवा दुई बजे समाचार सङ्कलनका लागि समाचारादाता पुग्दा तालाबन्दी थियो ।

वडाध्यक्ष पुडासैनी भने पाँचौँ तहका कविराज नगरपालिकामा बोलाएको भनी आफूसँग बिदा मागेर निस्किएको दावी गर्छन् । कविराज निस्किए पनि कार्यालय सहयोगीले कार्यालय त खोल्नुपर्ने होइन र ? भन्ने जिज्ञासामा उनले कुनै प्रतिक्रिया दिएनन् ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावनाअनुसार विभिन्न स्थानमा आयुर्वेद औषधालयको स्थापना गरिए पनि कार्यालय नै नखुल्दा बिरामी उपचार पाउनबाट वञ्चित हुने गरेका छन् ।

काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीमा वाग्मती अञ्चल आयुर्वेद औषधालय छ । देश सङ्घीय संरचनामा जानुअघि भद्रवासलगायत काठमाडौँका पाँच स्थानीय तहमा रहेका आयुर्वेद औषधालय अञ्चल आयुर्वेद औषधालयअन्तर्गत सञ्चालन हुन्थे ।

भद्रवासमा जस्तै काठमाडौँमा नागार्जुन नगरपालिकाको सीतापाइला, चन्द्रागिरि नगरपालिकाको मातातीर्थ, कीर्तिपुर नगरपालिकाको पाँगा र दक्षिणकाली नगरपालिकाको फर्पिङमा आयुर्वेद औषधालय रहेका छन् ।

सम्बन्धित निकायले जडिबुटीको महत्व बिर्सिँदा कौडीको भाउमा जडीबुटी विदेशिने र औषधिका गोली बनी हजारौँको मूल्य लिएर भित्रिने गरेको आयुर्वेदको उपचारमा सक्रिय वैद्य दीपक सुवेदी बताउँछन् । यहीँका जडीबुटीको उपयोग गर्न सके बाहिरबाट भित्रिने औषधिले भन्दा बढी रोग प्रतिरोधी काम गर्ने उनको विचार छ । (रासस)