पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु

कात्तिक २०, सोलुखुम्बु ।
सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । २९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग सँगै बस्दै आएकी थिइन् ।

स्थानीय कुमार राईको घरमा बुधबार साँझ भेट भई विवाद हुँदा होमबहादुरले खुकुरी प्रहार गरी टाउको तथा शरीरको अन्य विभिन्न भागमा हान्दा सोमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए ।

घटनाको विषयमा प्रहरीमा जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षक अनिल माबोहाङको टोली गई हत्या आरोपमा होमबहादुरलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार महिलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा राखिएको छ भने आरोपितलाई जिल्ला प्रहरी कार्यालय सल्लेरी पुर्याइँदैछ । (रासस)