बाइडेन जित नजिक पुग्दा ट्रम्प गए अदालत

कात्तिक २०, काठमाडौं ।
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक पुग्दा अर्का उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प भने अदालतको ढोका ढक्ढक्याउन पुगेका छन् ।

द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले दुई सय ५३ इलेक्टोरल कलेज भोट पाएका छन् । उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।

यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले जितेका थिए ।

अब मतगणनाको नतिजा आउन बाँकी रहेका ६ राज्यमध्ये बाइडन एरिजोना र नोभाडामा अगाडि छन् । बाइडनले आफूले अहिले अग्रता लिएका दुई राज्यमा मात्र जित हात पारेको खण्डमा त्यो उनलाई ४६ औं राष्ट्रपतिका रुपमा आफ्नो नाम लेखाउनेछन् ।

यद्यपि यी दुवै राज्यमा बाइडन र ट्रम्पको ठूलो अन्तर भने छैन । झिनो मतान्तर भएको यी राज्यमा ट्रम्प र बाइडेन दुवैको सम्भावना उत्तिकै छ ।

ट्रम्पले भने अहिलेसम्म दुई सय १४ इलेक्टोरल कलेज भोट पाएका छन् । तर, उनी पेन्सिल्भेनिया, जर्जिया र नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यमा अगाडि छन् ।

तर, पेन्सिल्भेनियामा गणना गर्न बाँकी रहेका मेलबाट गरिएको मत डेमोक्रेटिक पार्टीका उम्मेदवारको खातामा जानसक्ने अपेक्षा गरिएको छ । पेन्सिल्भेनियाका अधिकारीहरुले शुक्रबारसम्म अधिकांश मतगणनाको काम सकिने बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया पेन्सिल्भेनिया र मिशिगनमा अदालती प्रक्रिया सुरु गरेका छन् । उनले तत्काल मतगणना रोकिनुपर्ने माग गर्दै कानुनी प्रक्रिया सुरु गरेका हुन् ।

उनले यी राज्यको मतदानमा धाँधली भएको बताएका छन् । यद्यपि उनले यस विषयमा कुनै प्रमाण भने पेश गरेका छैनन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि व्यापक मात्रामा धाँधली भएको कुनै प्रमाण नभेटिएको उल्लेख गरेका छन् । (एजेन्सी)