भारतीय पत्रकार गोस्वामीलाई १४ दिन न्यायिक हिरासतमा राखिने

कात्तिक २०, काठमाडौं ।
आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ ।

बुधबार अबेर राति मुम्बई अदालतले गोस्वामीसहित अन्य दुई जनालाई पनि १४ दिनका लागि न्यायीक हिरासतमा राख्न आदेश दिएको हो ।

गोस्वामीका वकिलले भने जमानतका लागि निवेदन दिएका छन् । निवेदनउपर बिहीबार सुनुवाइ हुन सक्ने भारतीय सन्चार माध्यमले जनाएका छन् ।

सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ ।

रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

इन्टेरियर डिजाइनर अन्वयक र उनकी आमा कुमुद सन् २०१८ को मे महिनामा अलिबाग तालुकाको कवीर गाउँस्थित आफ्नो फार्म हाउसमा मृत फेला परेका थिए । त्यहाँ फेला परेको सुसाइड नोटमा अर्नबसँगै फिरोज शेख र नितेश सारदाले पाँच करोड रूपैयाँ भुक्तानी नगरेकाले आफूहरुले आत्महत्या गरेको उल्लेख छ ।

सन् २०१९ मा रायगढ प्रहरीले यो मुद्दाको फाइल बन्द गरेको थियो । तर नाइककी छोरीको उजुरीपछि महराष्ट्रका गृहमन्त्री अनिल देशमुखले फेरि यसको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।