‘गणतन्त्र नेपाल’ नलेख्ने निर्णयबारे छलफल गर्न संसदीय समितिले सरकारलाई बोलायो

कात्तिक, २० काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णयबारे छलफल गर्न सरकारलाई समिति बैठकमा बोलाएको छ ।

समिति सभापति शशी श्रेष्ठका अनुसार समितिको बैठक आगामी आइतबार दिउँसो १ बजे बस्नेछ । उक्त बैठकमा ‘गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयका विषयमा छलफल हुनेछ । बैठकमा निमिक्त सचिव खगराज बराललाई बोलाइएको छ ।

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा छन् । उनको दोस्रो रिर्पोट पनि कोरोना पोजेटिभ आएका कारण केही दिन देखी बरालले निमिक्त सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

मुख्य सचिवलाई कोरोना लागेर आइसोलेसनमा भएका कारण निमिक्त सचिव बराललाई बोलाइएको समिति सचिवालयले जनाएको छ ।

गत असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय भएको थियो ।

सोही निर्णय कार्यान्वयन गर्न भन्दै असोज २८ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मातहतका कार्यालयलाई पत्राचार गर्दै नेपालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ र अंग्रेजीमा ‘फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरिएकोमा अबदेखि नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘NEPAL’ लेख्न भनेको छ ।

नेकपाबाटै विरोध

‘गणतन्त्र नेपाल’ नलेख्ने निर्णयबारे सत्तारुढ नेकपाभित्रै विरोध भएको छ ।

नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवले विज्ञप्ति निकाले नेपालको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

विज्ञप्तीमा उनले देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छ अनुसार चलाउन खोपजएको रुपमा यो निर्णयमाथि टिप्पणी गरेका छन् ।

तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनका साथै हजारौं शाहिदहरूको अपमान र संघीयता विरोधि कदम भएको भन्दै उनले सरकारको उक्त निर्णयको भर्त्सना गरेका छन् ।

यसैगरी, जनता समाजवादी पार्टीका नेताहरुले समेत सरकरको यस निर्णयको विरोध गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रेस नोट जारी गर्दै ‘गणतन्त्र नेपाल’ नलेख्ने निर्णयलाई प्रतिगमनतिर लैजाने षड्यन्त्रका रुपमा टिप्पणी गरे ।

उक्त निर्णय निर्देशन र आदेश असंवैधानिक भएको र जनताले संघर्ष, त्याग र बलिदानद्वरा प्राप्त गरेका संघीय प्रणाली, समावेशिता, लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाकै विरुद्धमा रहेको उनले यादवले उल्लेख गरेका छन् ।

क्रान्तिकारी पार्टीहरूको प्रतिवद्धता र उत्पीडित वर्ग तथा जनसमुदायको चाहना अनुसार स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा उभिन भन्दै यादवले प्रेसनोटमार्फत अपिल पनि गरेका छन् ।

फाइल तस्वीर