कात्तिक २२, काठमाडौं ।
नेपाल सरकारले कोरोना भाइरस विरुद्धको खोप खरिद प्रक्रियाका लागि पहल थालेको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया सुरु भएको हो ।
परीक्षणमा सफल भएर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल ल्याउन सरकार सक्रिय रहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले कोभिड भ्याक्सिनको नेपालमा क्लिनिकल परीक्षण र खरिदका दुवै प्रक्रियामा नेपाल सरकार अघि बढेको बताएका छन् ।
अहिले विश्वका विभिन्न मुलुकले कोभिड–१९ विरुद्धको खोपको परीक्षण अन्तिम चरणमा पुर्याइसकेका छन् । ‘कुनै पनि मुलुकको परीक्षण झ्याप्प सफल भइहाल्यो भने त खोप किन्नुपर्ने हुन्छ, त्यसैले पनि सरकारले पहल थालेको हो,’ ज्ञवालीले भने ।
उनले खोप खरिदको प्रक्रियासँगै क्लिनिकल परीक्षण पनि नेपालमा गर्नका लागि सँगसँगै पहल भइरहेको जानकारी दिए ।







