प्रचण्डसहित पाँच नेताद्वारा ओलीलाई सचिवालय बैठक बोलाउन लिखित माग

कात्तिक, २२ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्षसहित पाँच शिर्ष नेताले तत्काल सचिवालय बैठक बोलाउन अर्का अध्यक्षलाई लिखित आग्रह गरेका छन् ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री निवासमै पुगेर उक्त लिखित पत्रसहित आग्रह गरेको हो ।

अध्यक्ष दाहालसहित झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम र श्रेष्ठले आज भोलीमै बैठक बोलाउन लिखित माग राखेकाथिए ।

उनले भने, ‘‘सकभर भोली नभए पर्सीसम्म बैठक बसेर गम्भीरतापूर्वक छलफल गरौँ र पार्टीलाई एकतावद्ध बनाउने, विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वनयन गर्ने दिशातिर जाने गरी निस्कर्ष निकालौँ भनेर अनुरोध गरिएको हो ।’’

कार्यकारी अध्यक्ष दाहालले पटक पटक बैठकका लागि आह्वान गर्दा पनि बस्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज लिखित अनुरोध गरिएको श्रेष्ठको भनाई छ ।

बैठक बस्ने नवस्ने विषयमा प्रधानमन्त्रीले केहि प्रतिकृया नदिएको बताइएको छ ।