प्रदेश नं. २ मा सौर्य उर्जातर्फ लगानी

कात्तिक २३, जनकपुर ।
प्रदेश २ मा खोलानालाबाट जलविद्युत उत्पादनका सम्भावना न्यून छन् । तर विकल्पको खोजी गर्ने क्रम बढेको छ । यस्तो भूभागमा सोलार इनर्जी उपयोगी हुने देखिएपछि लगानीकर्ताको ध्यान आकर्षित भएको छ ।

प्रदेश २ मा निजी क्षेत्रबाटै करिब चार सय मेगावाट बराबरका सोलार आयोजनाहरु निर्माणका विभिन्न चरणमा छन् । चौधरी ग्रुपले दुई सय मेगावाट बराबरका सोलारका ३ आयोजनाको अध्ययन गरिरहँदा पानस इनर्जी प्रालिले पनि एक सय मेगावाटको सोलार आयोजना निर्माण गर्ने तयारी गरेको छ ।

पानसले सिरहाको दुर्गापुरमा सय मेगावाट क्षमताको सोलार आयोजना निर्माणको अनुमति माग्दै विद्युत विकास विभागमा निवेदन दिएको छ । यो प्रोजेक्टलाई लामाडाँडा सोलार आयोजना नाम दिइएको छ ।

उक्त प्रोजेक्टले अध्ययन अनुमति पाएमा प्रदेश २ मा ठूलो क्षमताको सोलार आयोजना निर्माण गर्ने पानस इनर्जी दोस्रो ठूलो कम्पनी हुनेछ ।

यस अघि सिजी इनर्जीले प्रदेश २ मा दुई सय मेगावाट सोलार विद्युत उत्पादनको लागि अनुमति लिइसकेको छ । सिजीले पर्सा दुहबीमा ५० र गढीमा ३० मेगावाटका दुई आयोजना गरि ८० मेगावाट र महोत्तरीको पशुपतिनगर, हातीसरुवा, मेघनाथ र गोरहनामा गरि एक सय २० मेगावाटको एउटै सोलार आयोजना निर्माणका लागि अध्ययन अनुमति पाइसकेको छ । सिजीले आगामी पुससम्म अध्ययन सक्ने लक्ष्य राखेको छ ।

यी बाहेक साना–ठूला गरि प्रदेश २ मै करिब चार सय मेगावाट बराबरका सोलार आयोजना विभिन्न चरणमा छन् । अपि पावरले धनुषामा १ मेगावाट, इको पावरले धनुषामै १० मेगावाट, फर्च्युन डेभलपरले महोत्तरीमा ९.५ मेगावाट, कान्तिपुर इनर्जीले बारामा २ मेगावाट, सोलार स्टारले धनुषामा ५ मेगावाट र नेपाल पेट्रोलियम ट्रेड लिंकले बारामा ५ मेगावाटको सोलार आयोजना निर्माणका लागि अध्ययन अनुमति पाइसकेका छन् ।

त्यस्तै इको पावरले धनुषामा १० मेगावाट, अपि पावरले रौतहटमा ४ मेगावाट र सगरमाथा इनर्जीले धनुषामा ३ मेगावाटको आयोजना निर्माणको अनुमति लिएर अगाडि बढाइरहेका छन्। त्यस्तै एसियन टेकले सिरहामा ४ मेगावाट र अपि पावरले बारामा १ मेगावाटको आयोजना निर्माण अघि बढाउन निर्माण अनुमति माग्दै विभागमा निवेदन दिएका छन् ।

प्रदेश २ को ठूलो भूभाग पूर्वपश्चिम राजमार्ग आसपास पर्छ । उद्योग, कलकारखाना सञ्चालनका लागि सुगम स्थान धेरै छन् । ठूलो क्षेत्रमा धान खेती हुन्छ ।

ऊर्जाको खपत प्रदेश २ ले बढाउन सक्ने सम्भावना उच्च छ । मुलुकमा यतिबेला उत्पादनका तुलनामा माग नबढ्दा विद्युत प्रधिकरणको घाटा बढ्न थालेको छ ।

डिजिटल मिटरको अवधारणा ल्याएर घर घरमा व्यक्तिगत प्रयोजनका लागि सोलार ऊर्जा उपयोग गर्नेको पनि बढी हुने बिजुली किन्न अघि सरेको प्राधिकरणलाई खपत बढाउन चुनौती छ । प्रदेश २ मा उद्योग बिस्तार र व्यवसायिक कृषिका परियोजनामा ऊर्जा खपत बढ्न सक्ने सम्भावना प्राधिकरणका अधिकारीहरूले देखेका छन् ।

अन्तर्देशीय व्यापार सुरु भएर प्राधिकरणले बंगलादेश लगायतका मुलुकलाई बिजुली बेच्न सुरु गर्ने अवस्था आउँदा आन्तरिक मागको आपूर्ति व्यवस्थापन सुदृढ राख्न सोलार आयोजना उपयोगी हुने अधिकारीहरू बताउँछन् ।

देशका अधिकांश जलविद्युत ‘रन अफ दी रीभर’ (बहावमा निर्भर) छन् । खोला–नदिको जलस्तर घटबढले उत्पादन प्रभावित हुन्छ । यस्तो अवस्थामा सोलार ऊर्जालाई फरक पर्दैन । सोलार आयोजनाहरूले सधैं एकनास क्षमताअनुसार उत्पादन गर्न सक्छन् ।

सोलार पावरका यति धेरै आयोजना अघि बढे पनि प्रदेश २ मा अहिलेसम्म एउटा पनि आयोजना पूरा भने भएका छैनन् । मुलुकमा पूरा भएका दुई आयोजनाहरु काठमाडौं र नवलपरासीमा छन्, जसको उत्पादन क्षमता करिब २ मेगावाट मात्रै छ ।

नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाटको सोलार आयोजना पूरा हुने अन्तिम चरणमा छ । २ मेगावाट विद्युत उत्पादन सुरु गरिसकेको आयोजनाको थप १५ मेगावाट विद्युत पनि छिटै उत्पादन हुँदैछ ।