डेनमार्कको उडान बन्द गर्ने बेलायतको निर्णय

कात्तिक २४, काठमाडौं ।
संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको बताएको छ । शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो ।

डेनमार्कमा पछिल्लो समयमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि उडानमा प्रतिबन्ध लगाउने निर्णय भएको हो । डेनमार्कको डेनिस मिन्क फार्ममा कोरोना भाइरसको प्रकोप बढ्दै गएका कारण त्यहाँबाट बेलायतमा हुने गरेको आवागमनमा प्रतिबन्ध लगाइएको अधिकारीहरुले जनाएका छन् ।

त्यस फार्ममा ठूलो संख्यामा पशु चौपाया पनि रहेको र त्यहाँ कोरोना भाइरसको प्रकोप फैलिएको अनुमान गरिएको थियो । त्यसैले बेलायतले डेनमार्कबाट आउने नागरिकलाई बेलायत प्रवेशमा प्रतिबन्ध लगाएको बताएको छ ।

पछिल्लो समयमा बेलायतमा पनि ठूलो संख्यामा कोरोना भाइरसको संक्रमित बढ्दै गएका छन् । जसका कारणले बेलायतमा पनि विभिन्न किसिमका प्रतिबन्ध लगाइएका छन् । शनिबारबाट आगामी १४ दिनसम्मका लागि डेनमार्कबाट आउने नागरिकहरु बेलायत प्रवेश गर्न नपाउने नियम बनाइएको छ ।

बेलायतको सीमा सुरक्षा बललाई डेनमार्कबाट आउने नागरिकलाई प्रवेश गर्न नदिन आदेश दिएको जनाइएको छ । आगामी १४ दिनसम्मका लागि डेनमार्कमा रहेका बेलायती नागरिकलाई पनि प्रतिबन्ध लगाइने बेलायतको अध्यागमनसम्बन्धी अधिकारीले जानकारी दिएका छन् । (एजेन्सी)