तिहारमा प्रयोग हुने बत्तिको आयात घट्यो

कात्तिक २५, काठमाडौं ।
उज्यालोको पर्वका रुपमा चिनिने तिहारमा घर सजाउने गरिन्छ । विगतमा निकै प्रयोगमा आइरहेका झिलिमिली बत्ती पनि यस पर्वमा निकै प्रयोग हुन्छ ।

पूर्णतया विदेशी आयातमा निर्भर रहेको यस्तो सजावटमा नेपालीहरुको आकर्षण भने हरेक वर्ष बढेदो छ । पछिल्लो समय नेपालमा लोडसेडिङको अन्त्य भएसँगै यस्तो बत्तिहरुको विक्रिवितरण झन बढेको छ ।

हरेक वर्ष घर सजाउने झिलिमिली बत्तीको कारोबार करोडौं रुपैयाँमा हुने भए पनि यस वर्ष भने त्यसको कारोबार निकै घटेको व्यवसायी बताउँछन् । यो वर्ष कोरोना भइरसका कारण आयात प्रभावित हुँदा बजारमा झिलिमिली बत्तीको अभाव हुने भएको छ ।

गत बर्ष तिहारका लागि मात्रै ६० करोड रुपैयाँभन्दा बढीका विजुली बत्तीहरु आयात गरेका व्यवसायीहरुले यो बर्ष भने मागअनुसार अर्थात कम मात्रामा बत्ती आयात गर्ने योजना बनाएका छन् ।

तर, हालसम्म तिहारका विजुली बत्ती आई नपुग्दा बजारमा अभावको सिर्जना हुन लागेको व्यवसायीहरु बताउँछन् । ‘बत्तीको माग त बढेको छ । तर आयात नहुँदा भनेअनुसारको बत्तीका आईटम उपलब्ध छैन,’ एक व्यवसायीले भने, ‘बजारमा अभावजस्तै छ ग्राहक आउँछन् तर भनेजति र भनेजस्तो सामान दिन सकिएको छैन ।’

तर, यो बर्ष मागसँगै खपत पनि घट्ने भएपछि तिहारमा भित्र्याइने झिलिमिली बत्ति जम्मा २० करोड रुपैयाँ हाराहारीमा मात्रै आयात हुने नेपाल व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले बताए । उनका अनुसार कोरोना महामारीका कारण कतिपय मानिसहरुले शहर छोडेर गाउँतिर गएपछि यसको माग घटेको हो ।

तरपनि शहरमा हुनेजति मानिसलाई पनि हाल भईरहेको विजुली बत्तीले पुग्न गाह्रो भएको व्यवसायी बताउँछन् । उक्त अभावलाई चाँडै समाधान गर्नेगरी यस्ता झिलिमिली बत्ती आयात गर्न लागेको महासंघका अध्यक्ष पौडेल बताउँछन् । व्यवसायीहरुले बर्षेनी ६० करोड रुपैयाँ हाराहारीका झिलिमिलि बत्तीहरु आयात गर्ने गरेका छन् । नेपालमा यस्ता बत्तीहरु खासगरी चीनबाट भित्रिन्छन् ।