ट्रम्पले ह्वाइटहाउस नछाड्दै बाइडेनले राष्ट्रपतिको हैसियतमा विदेश प्रमुखसँग संवाद थाले

कात्तिक २६, काठमाडौं ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साताको निर्वाचनलाई स्वीकार गर्न नसकेको विषयलाई जोय बाइडेनले ’हतोत्साही’ कदम भनेका छन् । साथै उनले विदेशका प्रमुखसँग निर्वाचित राष्ट्रपतिको हैसियतले संवाद समेत सुरु गरेका छन् ।

राष्ट्रपति ट्रम्पले चुनावी मत परिणाम नस्वीकारी अदालती बाटो रोजिरहेकै बेला अमेरिकाका भर्खरै निर्वाचित प्रेसिडेन्ट बाइडेनले भने विभिन्न मुलुकका नेताहरुसँग सम्पर्क स्थापना गर्न सुरु गरिसकेका छन् ।

यसैबीच फेरि पनि ट्रम्पले ट्विट गर्दै यो रेसमा आखिरमा आफैले जित्ने दाबी गरेका छन् । पूरा मत परिणाम आइनसकेको भए पनि निर्वाचनमा बाइडेनले जित हासिल गरिसकेको प्रक्षेपण सार्वजनिक भएको छ ।

निर्वाचनमा भ्रष्टाचार भएको आरोप ट्रम्पले लगाउँदै आएका छन् । हरेक चार वर्षमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा यसैगरी मिडिया प्रोजेक्सनबाटै कसले जित हासिल गर्यो भन्ने खुलासा हुँदै आएको छ । यसैबीच बाइडेनले सञ्चारमाध्यमसँग भनेका छन्, ‘अमेरिका पुरानै लयमा फर्कियो भन्ने कुराको जानकारी गराउन मैले विभिन्न ६ देशका नेताहरूसँग कुरा गरिसकेको छु ।’

बाइडेनले यूकेका प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँ, जर्मन चान्सलर एंगेला मर्कल, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायतसँग टेलिफोनमार्फत् कुराकानी गरिसकेका छन् ।

उनीहरूसँग जलवायु परिवर्तन, स्वास्थ्य, आतङ्कवाद विरुद्धको लडाइ र सहकार्य सुदृढ गर्ने लगायतका विविध विषयमा कुराकानी भएको बताइएको छ ।