कात्तिक २६, काठमाडौं ।
भारतको बिहार राज्यमा भएको विधानसभा निर्वाचनमा पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ ।
बिबिसीका अनुसार दोस्रोमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको बीजेपी छ भने मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड जेडियुले केवल ४३ सिट हात पारेको छ ।
तर बीजेपी र जेडियुसहितको वर्तमान सत्ताधारी राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडिएले १ सय २५ सिट सहित सामान्य बहुमत भने पाएको छ ।
चुनावपछि काङ्ग्रेसको प्रदर्शन पहिलेभन्दा पनि खस्किएको देखिएको छ ।
२ सय ४३ सदस्यीय बिहार विधानसभामा तेजस्वी यादव नेतृत्वको कङ्ग्रेससहितको महागठबन्धनलाई १ सय १० सिट प्राप्त भएको छ ।
नितिशकुमारलाई ठूलो धक्का
बिहारको वर्तमान सत्ता गठबन्धनमा यतिञ्जेल मुख्य भूमिकामा रहेका मुख्यमन्त्री नितिशकुमारलाई भने यो परिणाम सुखद रहेन ।
हुन त अझै पनि गठबन्धनको नेतृत्व गर्दै उनले नै मुख्यमन्त्रीको पद सम्हाल्ने बीजेपीले बताइरहेको छ । तर बीजेपीको तुलनामा आफ्नो पार्टीसँग निकै कम सिट रहेको स्थितिका कारण नितिशकुमारको सामु अवस्था असहज देखिन्छ ।
तीन कार्यकाल मुख्यमन्त्री भइसकेका नितिशकुमार चौथो पटक पनि मुख्यमन्त्री हुने ढोका अझै खुला नै देखिन्छ ।
तेजस्वीको ‘उदय’
यसपटकको चुनावमा पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवले आफ्नो दल, राष्ट्रिय जनता दललाई अग्रस्थानमा पु¥याउन सफल भए ।
तर उनको दल र कङ्ग्रेससहितको महागठबन्धनले बहुमत भने जुटाउन सकेन । यो परिणामलाई तेजस्वीको उदाउँदो राजनीतिक हैसियतको प्रदर्शनको रूपमा कतिपयले मानेका छन् ।
यसपटक कोभिड–१९ महामारीकै बीचमा तीन चरणमा बिहारमा मतदान सम्पन्न भएको थियो । करिब ५७ प्रतिशत मतदाता सहभागी भएको चुनाव आयोगले बताएको छ । (बिबिसी)







