कात्तिक २७, धनगढी ।
गम्भीर लक्षण भएका संक्रमितहरुको संख्या बढेसँगै सुदूर पश्चिमको राजधानी धनगढीमा शय्या अभाव देखिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा बेड संख्याभन्दा बढी बिरामी राख्नु परेको छ ।
संक्रमितको उपचारको लागि भन्दै प्रदेश सरकारले १० बेड आईसीयूसहित ५० शय्याको अस्थायी कोरोना अस्पताल स्थापना गरेको थियो । ५० शय्याको अस्पतालमा ५५ जना कोरोना संक्रमित भर्ना भएका छन् ।
तत्काल थप गम्भीर लक्षण सहितका संक्रमित आए कहाँ राख्ने भन्ने कुनै टुङ्गो छैन । ‘हामीसँग भएका बेडहरू सबै भरिएका छन्,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले भने ‘अब संक्रमितलाई कहाँ राख्ने भन्ने समस्या छ ।’
पूर्वतयारी कमजोर हुँदा अब आउने संक्रमितलाई कहाँ राख्ने भन्ने टुंगो छैन । अस्पताल व्यवस्थापन समितिले गम्भीर लक्षण भएका बिरामीलाई तत्काल टीकापुर, महेन्ऽनगर वा नेपालगन्ज पठाउने विषयमा छलफल गरिरहेको छ ।
‘महेन्द्रनगर पनि कोरोना अस्पताल छ, त्यहाँ बेड खाली नै छ,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त जोशीले भने, ‘टीकापुर वा नेपालगञ्ज पनि पठाउन सकिन्छ । सङ्क्रमितहरूको उपचारमा समस्या आउन दिन्नौं ।’
कोरोना अस्पतालसँगै रहेको होटेलमा पनि संक्रमित राख्ने विषयमा छलफल भइरहेको बताए । तर त्यहाँ राख्न चिकित्सक र उपकरण अभावमा सहज भने छैन ।
अस्पतालहरुमा वेड अभाव देखिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले पनि चासो देखाएका छन् । उनले सरोकारवालाहरूलाई मुख्यमन्त्री कार्यालयमै बोलाएर तत्काल ५० शय्याको अर्काे कोरोना अस्पताल तयार गर्न निर्देशन दिएका छन् ।
‘मुख्यमन्त्रीले महिनामै सम्पन्न गर्ने गरी अर्काे कोरोना अस्पताल तयार गर्न निर्देशन दिनुभएको छ,’ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले भने ‘हामी अर्काे कोरोना अस्पताल निर्माणमा जुटिसकेका छौँ ।’
मङ्गलबारसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशका १० हजार २ सय १० मा कोरोना संक्रमण पुष्टि भइसकेको छ, जस मध्ये १ हजार ६११ जना संक्रिया संक्रमित छन् । सुदूरपश्चिम प्रदेशमा २८ जनाको मृत्यु भइसकेको छ ।







