पूर्वमन्त्री तथा समाजवादीका नेता गौतमको निधन

कात्तिक २७, काठमाडौं ।
पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री र जनता समाजवादी दलका भिम प्रसाद गौतमको निधन भएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको बिहीबार बिहान २ः३० बजेतिर आफ्नै घरमा निधन भएको बताइएको छ ।

उनी समाजवादी पार्टीका केन्द्रीय सल्लाहकारसमेत थिए । उनी विगत १५ दिनदेखि अस्वस्थ रहेको परिवारले जनाएको छ । अस्पतालमा निमोनियाको उपचार गराएपछि उनले घरमै आराम गर्दै आएका थिए ।

पूर्व भूमिसुधारमन्त्री, संविधानसभा सदस्य र तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अगुवा गौतमको निधनले सिंगो तनहुँवासीलाई स्तब्ध बनाएको बन्दिपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष भानुभक्त पोखरेलले बताए ।

गौतमको अन्त्येष्टि देवघाटमा गरिने परिवारिक स्रोतले जनाएको छ ।