भारतको सैन्य कलेजबाट नेपाली युवती नियन्त्रणमा

कात्तिक २७, काठमाडौं ।
भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनियरिङको हाताभित्र गैरकानुनी रुपमा बसेको भन्दै एक नेपाली महिलालाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पक्राउ परेकी ती २६ वर्षीया महिला नवलपरासीको भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै रिपोर्टहरू आएका छन् ।

उनी एक आर्मी अफिसरको निवासमा बसेको भन्दै यस विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ । ती महिलाले प्रहरी अनुसन्धानको क्रममा मार्च २३ मा आफूले पर्खाल नाघेर प्रवेश गरेको बयान दिएकी छन् ।

तर उनी किन त्यसरी प्रवेश गरिन् भन्ने सम्बन्धमा उनले केही बताउन नचाहेको स्थानीय प्रहरीले जानकारी दिएका छन् ।

त्यस अगाडि ती आर्मी अफिसर र महिलाको बिचमा बाहिर भेट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसैले आर्मी अफिसरको संलग्नताको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ती महिलालाई मंगलबार अदालतमा पेश गरिएको थियो ।