बैतडी बस दुर्घटनामा ९ जनाको ज्यान गयो, ७ गम्भीर घाइते

कात्तिक २८, बैतडी ।
जिल्लाको खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । जसमा सात जना गम्भीर रहेको बताइएको छ ।

बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरतर्फ गइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति ९ बजेतिर भीरबाट खसेको थियो ।

दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

मृतक र घाइतेहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।