कात्तिक २८, काठमाडौं ।
महान्यायधिवक्ता अग्नि खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देशभरका प्रहरी र सरकारी वकिललाई मिलेर काम गर्न निर्देशन दिएका छन् । मुद्दा मजबुत बनाउन आ–आफ्नो ठाउँबाट लाग्न उनीहरूले निर्देशन दिएका हुन् ।
महान्ययाधिवक्ताको कार्यालयले देशभरका प्रहरी प्रमुख र सरकारी वकिलसँग भर्चुअल छलफल गर्ने क्रममा बिहीबार यस्तो निर्देशन दिएको हो । पीडितलाई न्याय दिलाउन अनुसन्धान गर्ने र अभियोजन गर्ने दुवै निकाय क्रियाशील हुनुपर्ने भएकाले कार्यक्रम आयोजना गरिएको सह–न्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।
कार्यक्रममा महान्यायाधिवक्ता खरेलले भने, ‘पीडितका अधिकारहरू सुनिश्चित गर्न, पीडित मैत्री व्यवहार गर्न एवम् पीडितलाई सहायता गर्न र अपराध अनुसन्धान, अभियोजन र न्याय सम्पादन प्रक्रियाको बारेमा पीडितलाई निरन्तर सूचना प्रवाह गर्न यहाँहरूको विशेष क्रियाशीलताको लागि आग्रह गर्दछुु ।’
सरकारी वकिलले अभियोजनको निर्णय गर्दा पनि ध्यान दिनुपर्ने उनले छलफलका क्रममा बताएका छन् । ‘प्रमाण बेगर अभियोजन गर्नु र तथ्य, प्रमाणले स्थापित हुन नसक्ने दाबी लिनु पनि अक्षमता प्रदर्शन गर्नु नै हो,’ उनले भने, ‘प्रमाण हुँदाहुँदै कसूरबाट उन्मुक्ति हुने आधार खडा गर्नु पनि व्यवसायिक स्वतन्त्रताको दुरुपयोग हो ।’ अपराधको गम्भीरताका आधारमा मुद्दा चलाउन उनले सरकारी वकिललाई निर्देशन दिए ।
साथै प्रहरी महानिरिक्षक क्षेत्रीले मातहतका प्रहरी प्रमुखलाई समेत अपराध अनुसन्धानमा विशेष सक्रिय हुन निर्देशन दिएका छन् । प्रहरीले उजुरी दर्ता गर्न समेत आनाकानी गरेको गुनासो आएकोमा उनले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।
‘महिला, बालबालिका, ज्येष्ठ नागरिक, संलग्न रहेको मुद्दामा तिनीहरूलाई असल व्यवहार नदेखाएको भन्ने आम गुनासो सुन्नमा आएको हुँदा यस किसिमका गुनासाहरू आउन नदिने तर्फ सचेतता अपनाउनुपर्ने छ,’ उनले कार्यक्रममा भने ।
साथै जरुरी पक्राउ पुर्जीको दुरुपयोग भएको गुनासो आएकोप्रति समेत क्षेत्रीले ध्यानाकर्षण भएको बताए । उनले यसलाई नियम नभइ अपवादका रुपमा प्रयोग गर्न निर्देशन दिएका छन् ।
साक्षी र पीडितको संरक्षणमा समेत प्रहरी क्रियाशील हुनुपर्ने उनले बताए । उनले भने, ‘साक्षीको संरक्षणको जिम्मेवारी उचित रुपमा वहन गरी निजहरूलाई दिनुपर्ने परामर्श यथोचित समयमा दिइ अदालत समक्ष पेश गर्नुपर्छ । प्रतिकूल बकपत्र गर्न सिकाएमा अनुसन्धान अधिकारीलाई क्षमा दिन सकिँदैन ।’







