कात्तिक, २८ काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ ।
समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गरी मङ्सिर १५ गतेसम्म चान्द्रमास अनुसार कार्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टीका लगाउन आह्वान गरेका छन्र । वैदिक सनातन हिन्दू धर्मावलम्बीले चान्द्रमास अनुसार नै चाडपर्व मनाउने गर्छन् । मङ्सिर १५ गतेसम्म कार्तिक शुक्ल पक्ष भएकैले विवाहको लग्न १६ गतेपछि मात्र दिइएको पनि उनले जानकारी दिए।
यस वर्ष गत आश्विन महिनामा अधिकमास (मलमास) परेकाले चाडपर्व पछि सर्दा भाइटीका मङ्सिर १ गते परेको हो । भाइटीका दाजुभाइले दिदीबहिनीबाट र दिदीबहिनीले दाजुभाइबाट कुल परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर एकापसमा गच्छे अनुसार मीठा परिकार, उपहार एवं दक्षिणा दिएर आपसी सद्भाव वृद्धि गर्ने पर्व भएकाले त्यसै अनुरुप मनाउन पनि समितिले आह्वान गरेको छ ।
भाइटीकाको उत्तम साइत विहान ११ः३७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।
कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।
औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ । गाई, गोरु र आत्म (म्ह)पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ ।
आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ । म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ ।
भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताए । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।
मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहेको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक मनाइन्छ । तिहारमा कार्तिक कृष्ण त्रयोदशीको साँझदेखि कार्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीप दान गरिन्छ । यमदीप दान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ ।
काग र कुकुरलाई पनि यमदूतका रुपमा मीठा परिकार खान दिएर खुशी बनाउने वैदिक परम्परा छ जसबाट यमलोकमा सहयोग हुने विश्वास गरिन्छ ।







