कात्तिक २९, नुवाकोट ।
शिवपुरी गाउँपालिकाले एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ । ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषका लागि मासिक एक हजार भत्ता उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।
त्यसका लागि बजेट बिनियोजन, कार्यक्रमको सुनिश्चिततासहित कार्यविधि निर्माण गरेर मङ्सिरदेखि भत्ता उपलब्ध गराउन लागेको थापाले बताए । यो निर्णयले ६० वर्ष उमेर पूरा भएका एकसय भन्दाबढी एकल पुरुष लाभान्वित हुने भएका छन् ।
त्यस्तै शिवपुरी गाउँपालिकामा डाक्टरसहितको स्वास्थ्य सेवा शुरु भएको छ । कोरोना रोगबाट सङ्क्रमित भएका बिरामीलाई समेत सेवा दिने गरेर शिवपुरी गाउँपालिका–५ को शेराबगरमा रहेको स्वास्थ्य संस्थामा एमबीबीएस डाक्टरमार्फत गाउँपालिकाले स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाबासीको स्वास्थ्य जाँच तथा परीक्षणको लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयास स्वरुप सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले बताए ।
उनका अनुसार चिकित्सा सेवाको लागि गाउँपालिकामार्फत दरबन्दी सिर्जना र बजेट सुनिश्चित गराई डाक्टरसहित सेवा अबदेखि निरन्तर उपलब्ध गराइने भएको छ ।
‘कोरोना सङ्क्रमण भएका व्यक्तिलाई समयमै स्वास्थ्य परामर्श तथा उपचार सेवा दिन सकेमा उच्च मनोबलले रोग जित्न सक्षम हुनेछन् भन्ने विश्वास लिएका छौँ’, अध्यक्ष थापाले भने, ‘लक्षणविहीन सङ्क्रमितलाई घरकै एकान्तबासमा राखिएको र उनीहरुलाई डाक्टरसहित स्वास्थ्यकर्मीमार्फत परामर्श र निगरानी थालिएको छ ।’
गाउँपालिकाले कोरोना संक्रमण भई घरकै एकान्तबास (होम आइसोलेसन) मा बस्ने सङ्क्रमितलाई पौष्टिकयुक्त खानाको लागि एकमुष्ठ तीन हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
अध्यक्ष थापाका अनुसार लक्षण नभएका सङ्क्रमित घरकै एकान्तबासमा बस्न पाउने र त्यो समयमा सन्तुलित तथा पौष्टिकयुक्त खानाको आवश्यक पर्ने भएकाले त्यसका लागि पालिकाले तीन हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।







