जन्मदिनमा आविष्कार केन्द्रलाई ५० हजार

कात्तिक २९, बाग्लुङ ।
गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहेका तुलवीर थापा ‘समर्पण’ले आफ्नो जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गरेका छन् ।

शुक्रबार आविष्कार केन्द्रमै पुगी पत्रकार बबिता शर्मा र बैङ्कर्स शिव आचार्यले उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गरे । संयोजक पुनले प्रवासदेखि थापाले गरेका सहयोग र देखाएको सद्भावप्रति आविष्कार केन्द्र आभारी रहेको बताए ।

थापाले तत्काललाई रु. ५० हजार सहयोग गरेपनि आउँदो एक वर्षसम्म हरेक महिना आफ्नो कमाइको रु.पाँच हजार केन्द्रका लागि छुट्टाउने प्रतिबद्धता जनाए । त्योसमेत गरी थापाको सहयोग रकम रु. एक लाख दश हजार पुग्ने छ ।

‘जन्मदिनमा केही नयाँ काम गरौँ भन्ने थियो । आविष्कार केन्द्रका बारेमा सुनेपछि त्यसमै सहयोग गर्ने सोच पलायो,’ उनले भने ।

नौ वर्षअघि जापान पुगेका थापाको नागोयामा रेष्टुराँ व्यवसाय छ । व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा पनि उनी सक्रिय छन् । (रासस)