हराउँदै नर्के स्नानको मौलिकता

कात्तिक २९, गण्डकी ।
कात्तिक कृष्ण चतुर्दशी (नरक चतुर्दशी) का दिनमा पोखरा महानगरपालिका–३३ स्थित खुर्वादी, ओख्ले, कटुञ्जे लगायतका प्राकृतिक जलाशयमा पुगी गरिने स्नान (नर्के स्नान)को प्रचलन पछिल्ला वर्षमा हराउँदै गएको छ ।

नेपालीको चाड तिहारको दोस्रो दिन कुकुर तिहारका दिन यहाँका प्राकृतिक जलाशयमा झण्डै डेढ दशक अघिसम्म नर्के स्नान गर्नेका कारण जलाशय परिसरमा सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो । नरक चतुर्दशीका दिन बिहान सबैरै उठेर कसैसँग नबोली पानीका पँधेरा तथा कुवामा गई नुहाएर दीपदान गरेमा सम्पूर्ण पापबाट मुक्त हुने धार्मिक जनविश्वासका कारण पनि नर्के स्नानलाई महत्वका साथ हेर्ने गरिएको स्थानीय शान्ति थापाले बताइन् ।

उनका अनुसार पछिल्ला वर्षमा बढ्दै गएको प्राचीन संस्कृतिप्रति युवा पुस्ताको अनाकर्षण र लिफ्टिङ प्रविधिका कारण घरघरमा पानी पुगेका कारण पनि प्राकृतिक जलाशयमा पुगी स्नान गर्ने प्रचलन हराउँदै गएको हो ।

नरक चर्तुदशीका दिनमा तोरीको पिना लगाएर नुहाउने र नुहाइसकेपछि दियो बालेर पूजा गर्नुपर्ने यो स्नानको मौलिकता हो । विगतमा कुकुरले टोकेका व्यक्तिले त अनिवार्य नर्के स्नान गर्नुपर्ने जनविश्वास रही आएको छ ।

यस दिन सम्पूर्ण पापको नाशका लागि मासको पात खाने चलन पनि छ । नर्के स्नानसँगै यस दिन सर्वसाधारणले घरघरमा कुकुरको पूजा गर्दछन् ।

आज्ञापालक र इमान्दार पशुका रुपमा मानिने कुकुरलाई यमराजको दूतका रुपमा लिइन्छ । भैरवको बाहनको रुपमा लिइने कुकुरलाई पूजाआजा गरी माला लगाइदिने र मन पर्ने खानेकुरा खान दिइन्छ । (रासस)