६१ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

कात्तिक ३०, गलकोट ।
नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बागलुङमा ६१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

जिल्लामा विसं २०७३ असारदेखि शुरुआत भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ६१ हजार ६ सय ६३ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्ड कार्यालय बागलुङका दर्ता अधिकारी नारायण शर्माले जानकारी दिए । कोरोना कहरका बीच पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

कोरोनाका कारण शुरुको अवस्थामा नागरिकहरु उपचार तथा औषधि लिन अस्पताल तथा स्वाथ्यचौकी नआए पनि पछिल्लो समय सेवा लिने क्रम केही बढ्न थालेको छ । शर्माका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या सबैभन्दा बढी छ ।

कोरोनाका कारण मानिसको स्वास्थ्यप्रतिको चासोसमेत बढ्दै गएका कारण स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको सङ्ख्या बढ्ने स्वास्थ्य बीमा बोर्डको अपेक्षा छ । सत्तरी हजारभन्दा बढी स्वास्थ्य बीमामा आबद्ध भइसक्नुपर्ने अवस्थामा कोरोनाका कारण घरघरमा स्वास्थ्य बीमा गराउन जान समस्या भएपछि लक्ष्यअनुसार बीमा गर्नेको सङ्ख्या बढाउन नसकेको शर्माको भनाइ छ ।

‘शुरुको अवस्थाभन्दा धेरै नै सहज भइसकेको छ । अहिले स्वास्थ्य बीमाका विषयमा धेरैले बुझ्न थालेका छन्,’ दर्ता अधिकारी शर्माले भने, ‘कोरोनाका बिरामीलाई समेत उपचारको व्यवस्था गर्ने गरी कार्ययोजना बढाइएको छ ।’

सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहँुच पुगोस् भन्ने हेतुका साथ अगाडि सारेको स्वास्थ्य बीमा कार्यक्रमले जिल्लामा आर्थिकरूपमा विपन्न र गरिब समुदायका बिरामीले औषधोपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

कमै मात्रमा स्वास्थ्य उपचारका लागि बागलुङ जिल्लामा रहेको धवलागिरि अस्पतालमा आउने बिरामी स्वस्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्यामा तेब्बरले वृद्धि भएको भए पनि पछिल्लो समय कोरोनाका कारण ह्रास आएको धवलागिरि अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए ।

उनले भने, ‘कोरोनाले शुरुको अवस्थामा केही सहजीकरण गर्यो । अभिभावकको औषधि परिवारका सदस्यलाई समेत दियौँ । अहिले सहज भइसकेको छ, फार्मेसी र ओपिडी कोरोनाभन्दा फरक स्थानमा भएकाले अस्पतालमा आउने बिरामी आइरहेका छन् ।’

बीमितले धवलागिरि अस्पतालको फार्मेसीमार्फत निःशुल्क औषधिसमेत पाउँदा बीमाप्रतिको आकर्षण बढेको हो । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा रु एक लाखसम्म उपचार खर्च निःशुल्क हुने नीति छ ।

जिल्लामा शुरुआत भएको स्वास्थ्य बीमामा सबै वर्ग बीमामा आबद्ध भएका छन् । बीमा गरेपछि निजी क्लिनिक जाने बिरामी सरकारी अस्पताल, स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदासाथ आम सर्वसाधारण जनता अनभिज्ञ भए पनि हाल आएर बीमा गराउन फोन गरेरै बोलाउने गरेको दर्ता सहयोगी सरिता शर्माले बताइन् ।

बीमा रकम तिर्न नसक्ने अति गरिब तथा ७० वर्ष नाघेका वृद्धवृद्धालाई सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेपछि वृद्धवृद्धा निकै आकर्षित भएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रियालगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै सरकारले तोकेको झण्डै ४ सय ८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य बीमाका लागि बागलुङ जिल्लाका ७० जना दर्ता सहयोगीले घरघरमा पुगेर बीमा दर्ता गर्दै आएका छन् । सबै नागरिकलाई बीमामा आबद्ध गर्ने गरी आफ्नो वडामा सचेतनामूलक कार्यक्रमसँगै आफू घरदैलो कार्यक्रममा समेत हिँड्ने गरेको बागलुङ–४ का वडाध्यक्ष धु्रव केसीले जानकारी दिए । (रासस)