काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा स्वकीय सचिव गङ्गा दाहालले आफ्नो परिवारमाथि लगाइएका आर्थिक अनियमिततासम्बन्धी आरोपको खण्डन गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै दाहालले आफू र आफ्नो परिवारलाई लक्षित गरी नियोजित रूपमा अफवाह फैलाउने काम भइरहेको दाबी गरेकी हुन् ।
उनका अनुसार यसअघि ‘दुबईमा ४० अर्ब रुपैयाँ रहेको’ तथा ‘भाटभटेनीलगायत ठूला व्यापारिक घरानासँग साँठगाँठ रहेको’ जस्ता आरोप लगाइए पनि ती पुष्टि हुन सकेका छैनन् । अहिले पुनः ‘५० करोड’ सम्बन्धी हावादारी हल्ला फैलाउन खोजिएको उनको भनाइ छ ।
दाहालले सामाजिक सञ्जालमा लेख्दै अफवाह फैलाउनेहरूलाई आरोप पुष्टि गर्न सार्वजनिक चुनौती दिएकी छन् । उनले राजनीतिक प्रतिशोध र विरोधको पनि सीमा हुनुपर्ने बताउँदै कुनै पनि आरोप प्रमाणित नभएपछि नयाँ–नयाँ हल्ला चलाउने प्रयास भइरहेको उल्लेख गरेकी छन् ।
आफू र आफ्नो परिवार जुनसुकै कानुनी छानबिनका लागि तयार रहेको दाबी गर्दै उनले सम्पत्ति विवरण सरकारसमक्ष बुझाइसकेको बताएकी छन् । सरकारले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने र गलत काम गरेको प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको उनको भनाइ छ ।
आफ्नो बाल्यकाल क्रान्ति र असामान्य परिस्थितिमा बितेको स्मरण गर्दै दाहालले जनतालाई धोका दिनुभन्दा मृत्यु स्वीकार गर्ने संस्कारमा आफूहरू हुर्किएको उल्लेख गरेकी छन् ।
उनले आफूहरू मृत्युलाई समेत सामना गरेर आएको भन्दै जनतालाई धोका दिन नसक्ने बताएकी छन् ।
त्यस्तै, छोरीको हैसियतले बुवालाई सहयोग गर्नु अपराधका रूपमा चित्रण गर्न नहुने उनको आग्रह छ । बेला–बेलामा आफू र परिवारविरुद्ध नियोजित रूपमा अफवाह फैलाइनुको कारण र उद्देश्यबारे उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।






