मंसिर १, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आइतबार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा आफ्नो पनि योगदान रहेको प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । ‘प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव हामी सचिवालयका पाँचैजना कमरेडहरुले मिलेर तयार गरेका हौं,’ गौतमले ओलीलाई भने, ‘यो प्रस्ताव तयार गर्नमा कम–बेसी मेरो पनि योगदान छ । यो प्रचण्डले पेश गरे पनि यसमा प्रचण्डमात्रै होइन, पाँचैजना संलग्न छौं ।’
शुक्रबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न प्रवृत्तिगत आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।
प्रचण्डद्वारा प्रस्तुत प्रस्तावमा केपी ओलीलाई ‘त्याग गर्न’ भन्दै घुमाउरो अर्थमा राजीनामा मागिएको छ । यो प्रस्तावमाथि मंसिर ३ मा बस्ने सचिवालय बैठकमा छलफल हुने कार्यसूची छ ।
केपी ओली पक्षका नेताहरुले भने प्रचण्डद्वारा प्रस्तुत उक्त पार्टी एकताको भावना विपरीत आएको भन्दै सो प्रस्ताव फिर्ता लिन माग गरिरहेका छन् । यहीबेला उपाध्यक्ष गौतमले बालुवाटार पुगेर सो प्रस्ताव प्रचण्डको मात्रै नभई पाँचै जना नेताहरुको साझा प्रस्ताव भएको प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् ।
ओलीले मागे गौतमसँग ‘सहयोग’
उपाध्यक्ष गौतमसँगको भेटमा प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर, गौतमले ‘यो समस्याको सर्जक तपाई आफै हो भन्दै आफैं समाधान निकाल्न’ सुझाएको बालुवाटार स्रोतले बतायो ।
‘यो समस्या तपाई र प्रचण्डले जानेर नजानेर सिर्जना गर्नुभएको हो । यो समस्या तपाईहरु दुईटासित सम्बन्धित भएर आयो । दुईटामा पनि तपाई पहिलो नम्बरमा हुनुहुन्छ’ गौतमले प्रधानमन्त्री ओलीलाई भने, ‘त्यसो भएर तपाईले नै यो समस्या यसरी समाधान गर्ने भनेर भनेपछि त्यसमा मेरो सहयोग हुन्छ । तपाईले नै यसरी समाधान गर्छु भनेर अगुवाई नगर्ने हो भने मलाई मात्रै भनेर मसित कुनै बाटो छैन ।’
स्रोतका अनुसार उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई भने, ‘समस्या सिर्जना हुनमा मेरो कमजोरी के छ भनेर सोच्नोस् । प्रचण्डले पनि सोच्नुपर्छ, तपाईले पनि सोच्नुपर्छ । दुबैले महसुस गरेपछि बल्ल समाधान हुन्छ । जबसम्म तपाईहरुले यो महसुस गर्नुहुँदैन, त्यसबेलासम्म समस्याको पहिचान हुँदैन र समाधान पनि हुँदैन ।’
‘मन्त्री बन्न इच्छा छैन’
यसैबीच, प्रधानमन्त्री ओलीले वामदेवलाई सरकारमा सहभागी हुन र मन्त्री बन्न प्रस्ताव गरेको चर्चा भए पनि उपाध्यक्ष गौतमले त्यसलाई अस्वीकार गरे ।
सरकारमा सहभागी हुन प्रधानमन्त्रीले तपाईलाई प्रस्ताव गर्नुभएको हो ? भन्ने प्रश्नमा नेता गौतमले भने, ‘प्रधानमन्त्रीले मलाई सरकारमा भूमिका खेलिदिनुपर्यो भन्नुभएको छैन । सरकारमा भूमिका खेल्नुपर्यो भनेर उहाँले यस्तो बेलामा भन्नुहुन्न र मैले पनि त्यस सम्बन्धमा चासो राख्दिनँ ।’
उपाध्यक्ष गौतमले अहिले मन्त्री बन्ने आफूमा चाहना नरहेको बताए ।







