कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह : सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र अनावश्यक रूपमा रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन्।

कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सबै राष्ट्रबीच सहमति र सम्झौता कायम नभएसम्म जलवायु परिवर्तनविरुद्धको सामूहिक प्रयास सफल हुन नसक्ने बताए।

उनले प्रत्येक देशको आफ्नै धारणा र प्राथमिकता भए पनि साझा सहमतिका लागि सबै पक्षले लचकता अपनाउनुपर्नेमा जोड दिए। प्रत्येक शब्द र वाक्यमा सहमति जुटाउन चुनौतीपूर्ण भए पनि त्यसका लागि निरन्तर प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

सम्मेलनमा करिब २०० देशले १६५ वटा कार्यादेशमा छलफल गरिरहेको जानकारी दिँदै स्टिलले वार्ताको दोस्रो सातामा प्रवेश गर्दा जटिल विषयलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरे। उनले रणनीतिक रूपमा वार्ता लम्ब्याउने प्रवृत्ति अन्त्य गरी समयमै निष्कर्षमा पुग्नुपर्ने बताए।

विश्वव्यापी तापक्रम वृद्धिका कारण बढ्दो आर्थिक भार र ऊर्जा बजारमा देखिएको अस्थिरताले जलवायु परिवर्तनको मुद्दालाई थप महत्वपूर्ण बनाएको उनले उल्लेख गरे। उनका अनुसार नवीकरणीय ऊर्जा आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा सुरक्षित र सुलभ ऊर्जाको महत्वपूर्ण आधार बन्दै गएको छ।

विद्युतीकरण र जलवायु वित्तमा पहुँचलाई वार्ताका प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गर्दै उनले स्वच्छ ऊर्जा, बलियो पूर्वाधार, स्वच्छ उद्योग र विपद्बाट नागरिकको सुरक्षालाई जलवायु कार्यका महत्वपूर्ण क्षेत्रका रूपमा औँल्याए।

जलवायु सङ्कटको समाधान तत्काल सम्भव नहुने र एउटा सम्मेलनले मात्रै यसको अन्त्य गर्न नसक्ने उल्लेख गर्दै उनले प्रत्येक सम्मेलनबाट ठोस उपलब्धि हासिल हुनुपर्ने बताए। जलवायु कार्यलाई प्रभावकारी बनाउन विश्वभरका अर्बौं मानिसलाई यस अभियानमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो।

यसका लागि जलवायु परिवर्तनका असर र समाधानलाई नागरिकको दैनिक जीवन, स्वास्थ्य, रोजगारी तथा सुलभ र भरपर्दो ऊर्जाको आवश्यकतासँग जोड्नुपर्ने उनले बताए। खेलकुद, चलचित्र, सङ्गीत, टेलिभिजन र कलालाई जलवायु परिवर्तनबारे जनचेतना फैलाउने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्न सकिने उनको धारणा थियो।

खेलकुद मानिसको परिवार, समुदाय र पहिचानसँग जोडिने भएकाले यसमार्फत जलवायु परिवर्तनका असर आमनागरिकसम्म पुर्‍याउन सकिने उनले बताए। विश्वकप फुटबलका क्रममा अत्यधिक गर्मीका कारण खेलाडीको स्वास्थ्य र प्रदर्शन प्रभावित हुनुका साथै दर्शकसमेत अस्पताल भर्ना हुनुपरेका घटनाले खेलकुद क्षेत्रमा जलवायु अनुकूलनको आवश्यकता देखाएको उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा टेलिमुन्डोकी पत्रकार भेनेस्सा हाउकले विश्वकप फुटबलका क्रममा जलवायु परिवर्तनका प्रभावबारे दर्शकलाई जानकारी गराउन सञ्चारमाध्यमले गरेको प्रयासबारे अनुभव सुनाइन्।

उनका अनुसार विश्वकपका खेलमा राखिने पानी पिउने विश्रामका समयमा अत्यधिक गर्मी र उच्च आर्द्रताले खेलाडीको स्वास्थ्यमा पार्ने असरबारे चिकित्सक, खेलाडी तथा रेफ्रीसँग अन्तर्वार्ता गरेर दर्शकलाई जानकारी गराइएको थियो।

विश्वकपका करिब एक चौथाइ खेल मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मौसममा हुनसक्ने अध्ययनले देखाएको उल्लेख गर्दै उनले खेलका क्रममा पानी पिउने विश्रामलाई जलवायु विज्ञानसम्बन्धी जानकारी प्रवाह गर्ने अवसरका रूपमा उपयोग गरिएको बताइन्।

टेलिमुन्डोले त्यस्ता विश्रामका समयमा विज्ञापन प्रसारण नगरी खेलाडीले पानी पिइरहेको तथा शरीरमा बरफ राखेर तापक्रम नियन्त्रण गर्ने प्रयास गरिरहेको दृश्य दर्शकलाई देखाएको उनले जानकारी दिइन्।

जलवायु परिवर्तनका प्रभावसँगै त्यसका कारण र जिम्मेवारीका विषय पनि सञ्चारमाध्यमले उजागर गर्नुपर्नेमा उनले जोड दिइन्। मानिसको रुचि र चासोसँग जोडिएका क्षेत्रबाट जलवायु सञ्चारलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।

यसैगरी भारतीय संस्था पीएलयुसीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत तम्सिल हुसेनले चलचित्र तथा मनोरञ्जन उद्योगलाई जलवायु कार्यसँग जोड्नुपर्ने बताए।

भारतमा हरेक वर्ष २० भाषामा एक हजार ८०० भन्दा बढी चलचित्र निर्माण हुने उल्लेख गर्दै उनले चलचित्र उद्योग जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम बन्न सक्ने बताए।

पीएलयुसीले नेटफ्लिक्स इन्डियासँगको सहकार्यमा भारतको पहिलो जलवायु विषयक पटकथा लेखन प्रयोगशाला सञ्चालन गरेको जानकारी दिँदै उनले उक्त कार्यक्रममा छ हजारभन्दा बढी पटकथा लेखकले आवेदन दिएकामा ६५ जना छनोट भएको बताए।

लेखकहरूलाई जलवायु परिवर्तनकै विषयमा मात्र कथा लेख्न नभनी प्रेमकथा, त्रासदी र विज्ञानमा आधारित काल्पनिक कथाजस्ता लोकप्रिय विधामार्फत जलवायुका विषय समेट्न प्रोत्साहित गरिएको उनले जानकारी दिए।

भारतका नौ प्रमुख चलचित्र निर्माण संस्थाबाट सुरु भएको उक्त पहलमा हाल १७० चलचित्र स्टुडियो सहभागी भइसकेका छन्। ती संस्थाको सहकार्यमा भारतको पहिलो हरित चलचित्र उत्पादन निर्देशिका पनि तयार गरिएको उनले बताए। उक्त निर्देशिकाले चलचित्र निर्माणका क्रममा उत्सर्जन घटाउन र वातावरणमैत्री अभ्यास अपनाउन सहयोग पुर्‍याउने उनको भनाइ थियो।

चलचित्रमा जलवायु परिवर्तनका विषय समेट्नुका साथै चलचित्र निर्माण प्रक्रियालाई नै स्वच्छ र कम उत्सर्जनयुक्त बनाउन आवश्यक रहेको उनले उल्लेख गरे। स्वच्छ ऊर्जा रूपान्तरण र सिर्जनात्मक अर्थतन्त्रलाई सँगसँगै अघि बढाउन सके चलचित्र तथा मनोरञ्जन क्षेत्रले जलवायु कार्यमा नागरिकको सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको विश्वास थियो।

(रासस)