मंसिर १, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार र नेपाल सम्वतको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । तिहारले सम्पूर्ण नेपालीबीच आपसी सदभाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेको उनले शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।
तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नाका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने तथा देउसीभैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्याउने उनको विश्वास छ ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको उत्तरोत्तर प्रगतिको कामना गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘चाडपर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ बढ्ने हुँदा पूर्वसावधानी पालना गर्नु झनै जरुरी हुन आएको छ ।’
यसैबीच राष्ट्रपति भण्डारीले नेपाल संवतको नयाँ वर्ष ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् ।
नेपाल संवतको नयाँ वर्षका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले यस संवतले सम्पूर्ण नेपालीका बीचमा आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
उनले कोभिड–१९ महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य तथा समाजको बृहत् सुरक्षालाई ध्यान दिई तिहार र नेपाल सम्वत् मनाउन पनि आग्रह गरेकी छन् ।







