विदेशबाट फर्किएका बेरोजगार युवाको तथ्यांक संकलन गरिने

मंसिर १, काठमाडौं ।
सरकारले विदेशबाट फर्किएर मुलुक भित्र बेरोजगार भई बस्नु परेका युवाको तथ्यांक संकलन गर्ने भएको छ । २४ कात्तिकको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश पुगे पनि कोरोना भाइरसको संक्रमणका कारण स्वदेश फर्किएर बेरोजगार बस्न बाध्य भएका युवाको तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो ।

उक्त काम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक स्थानीय तहमा खटिएका रोजगार संयोजकमार्फत गर्नेछ । सोही प्रयोजनका लागि मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी तथ्यांक संकलन थाल्न निर्देशनसमेत दिएको छ ।

काम रोजगारीको सम्भाब्यता अध्ययनका लागि हुन लागेको मन्त्रालयले जनाएको छ । सोही कारण कोभिड १९ को कारणबाट भारतसहित अन्य मुलुकबाट रोजगारी गुमाएका वा अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार युवाको तथ्यांक संकलन गरिनेछ ।

उनीहरुमध्ये १८ देखि ५९ वर्ष समुहलाई मात्र सूचीमा राखिने छ । मन्त्रालयले १५ दिन भित्र यस्तो तथ्यांक पठाउन सबै स्थानीय तहलाई आग्रह समेत गरेको छ ।

तथ्यांक संकलन गर्दा अब जिल्ला, गाउँपालिका, वडा, नामथर र व्यक्तिगत अन्य विवरण संकलन गरिने छ । विदेशमा रहँदा संलग्न भएको सीप र तालीम, कुन मुलुकबाट फर्केको, विदेशबाट फर्कनुको कारण र सम्पर्क नम्बरसहितको प्रतिवेदन संकलन गर्न लागिएको हो ।

यसका साथै सोही क्रममा नेपालमै रहेर बेरोजगार बस्नु परेका युवाको समेत विवरण संकलन गरिनेछ । रोजगार संयोजकमार्फत १८ देखि ५९ वर्षका बेरोजगार युवाको तथ्यांक संकलन गरिने बताइएको छ ।

उक्त विवरणमा व्यक्तिसँग भएको दक्षता, सीप र तालिमको अवस्था समेत संकलन गरिने छ । बेरोजगार हुनुको कारण र अपांगता भए–नभएको विवरण समेत यसमा भरिने भएको छ ।

मन्त्रिपरिषद् बैठकले यसरी संकलन भएर आएको विवरणमा आधारित भई मुलुक भित्रै स्वरोजगारी र रोजगारी सिर्जनाको कार्ययोजना निर्माणको जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ । मन्त्रालयले सम्बन्धित विषयगत मन्त्रालयसँगको परामर्शमा कार्ययोजना तयार पार्ने भएको छ ।