रहेनन् नेकपा नेता बोम खड्का

मंसिर २, गुल्मी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । गए राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको निधन भएको हो ।

नेता खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाइमा पुगेका व्यक्ति थिए । विसं २०२३ असारमा धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा जन्मिएका उनले सानैदेखि राजनीतिमा चासो राख्दै आएका थिए ।

उनले विसं २०४१ भन्दा अगाडि नै रेसुङ्गा बहुमुखी क्याम्पसमा नेकपा (माले) निकट विद्यार्थीको सङ्गठनमा आबद्ध भई सङ्गठन निर्माणमा लागेका थिए । उनी विसं २०४१ मा नेकपा (माले)को जिल्ला कमिटी सदस्य र विसं २०४९ मा मालेकै जिल्ला कमिटी उपसचिव बने ।

त्यसपछि नेकपा एमाले भइसकेपछि सङ्गठन विभाग प्रमुख हुँदै एमालेकै जिल्ला अध्यक्षसमेत भए । हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा गुल्मी निर्वाचन क्षेत्र नं २ का इन्चार्जको जिम्मेवारीमा खड्का थिए । (रासस)