ओलीको ठाडो निर्देशनमा प्रचण्डसहितका पाँच नेकपा नेता गुप्तचरको रडारमा

मंसिर ३, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशपछि राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)ले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टिका पाँच शीर्ष नेतामाथि निगरानी बढाएको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफूसँग विभिन्न विषयमा असहमति राख्दै आएका आफ्नै दलका नेतामाथि जासुस भिडाएका हुन् ।

गत शुक्रबार नेकपा अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा १९ पेज लामो प्रस्ताव पेश गरेपछि आक्रोशित बनेका प्रधानमन्त्री ओलीले लगत्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई निर्देशन दिँदै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठको कडा निगरानी गर्न निर्देशन दिएका हुन् ।

ओलीले अधिकारीलाई नेताहरुको कडा निगरानी गर्न उर्दी जारी गरेपछि शनिबारबाटै नेताहरुको निगरानीमा गुप्तचरका कर्मचारीहरु बाक्लो रुपमा खटिएका हुन् । शनिबार यता नेताहरु प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठको निवास वरपर गुप्तचरका कर्मचारी बाक्लो रुपमा खटिएको देखिएको छ ।

‘हामीले आफ्नो जिम्मेवारी र निर्देशन अनुसार काम गरिरहेका छौँ’, बरफबाग स्रोतको भनाइ छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड ललितपुरको खुमलटारमा बस्छन् भने नेता नेपाल काठमाडौँको कोटेश्वरमा बस्छन् ।

प्रचण्डको निगरानीमा चापागाउँ दोवाटोदेखि नै गुप्तचर विभागका कर्मचारीहरुको ओहोरदोहोर हुन थालेको छ । विभिन्न भेषमा खटिएका ती कर्मचारीहरुले प्रचण्डलाई भेट्न आउने नेताहरुको लगत राख्नेदेखि प्रचण्ड कताकता जाँदैछन् भन्ने जानकारी लिएर बालुवाटारमा रिपोर्ट दिने गरेको बुझिएको छ ।

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालको निगरानीमा कोटेश्वर चोक र बालकुमारी पुल छेउदेखि उनको निवास वरपर गुप्तरका कर्मचारीहरुको आवतजावत बढेको छ । त्यसबाहेक नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठमाथि पनि निगरानी बढाउन गुप्तचरका कर्मचारी खटिएका छन् ।

‘छिनछिनमा बालुवाटारमा रिपोर्ट बुझाउनु भन्ने उर्दी छ । त्यसैले हामी त अहिले २४ सै घण्टाजस्तो डिउटीमा हुन्छौँ’, एक नेताको निवास नजिकै फिल्डमा खटिएका विभागका एक कर्मचरीले भने, ‘यो क्रम नियमित नै हो । पहिला पनि हुन्थ्यो तर अहिले अलि बढी नै ख्याल गर्नुभन्ने निर्देशन छ ।’

अनुसन्धान विभागलाई बोलीचालीको भाषामा गुप्तचर विभाग भनिन्छ । जुन विभाग गृहमन्त्रालय मातहतमा रहँदै आएपनि ओली प्रधानमन्त्री भएपछि आफ्नै मातहतमा ल्याएका छन् । यसअघि पनि नेकपामा विवाद बढ्दै गएकाबेला गत वैशाख र असारमा पनि नेताहरुको निगरानीमा गुप्तरका कर्मचारीहरुलाई बालुवाटारले बाक्लो रुपमा खटाएको भन्दै आलोचना भएको थियो ।