कोरोना महामारीमा बैंकहरुको आम्दानी घट्दो

मंसिर ३, काठमाडौं ।
कोरोना भाइरसका कारण चालु आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको आम्दानी घटेको छ । कोभिड–१९ का कारण धेरै ऋणीहरुले कर्जा समयमा भुक्तानी गर्न नसकेका कारण बैंकहरुको आम्दानी घटेको हो ।

सञ्चालनमा रहेका २९ वाणिज्य बैंकहमध्ये अधिकांशको नाफामा गिरावट आएको छ । केही बैंकले नाफा बढाए पनि समग्रमा बैंकहरुको तीन महिनाको आम्दानी गत आर्थिक वर्षको तुलनामा ८० करोड रुपैयाँ कम देखिएको छ ।

बैंकहरुले तिहारअघि नै नेपाल राष्ट्र बैंकमा पहिलो त्रैमासको रिपोर्ट बुझाएका थिए । आर्थिक वर्ष २०७६–७७ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १५ अर्ब ५५ लाख रुपैयाँ नाफा कमाएका थिए तर चालु आर्थिक वर्षमा १४ अर्ब ७६ करोड रुपैयाँ मात्र कमाएका छन् ।

कुन बैंकले कति कमाए ?
महामारीका बीच पनि धेरै नाफा बढाउनेमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा देखिएको छ । यो बैंक तत्कालिन जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मिलेर बनेको सबै भन्दा ठूलो बैंक हो ।

यस बैंकले पहिलो त्रैमासमा १ अर्ब ५ करोड ८८ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो बैंकले ७५ करोड ३२ लाख रुपैयाँमात्रै कमाएको थियो ।

मुनाफा धेरै कमाउनेको दोस्रो नम्बरमा नबिल बैंक देखिएको छ । नबिल बैंकले यस अवधीमा १ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको छ । उसको नाफा गत आर्थिक वर्षमा भन्दा ९ करोड रुपैयाँ कम हो ।

ऋण विस्तारमा निकै आक्रामक र अवधि नपुगी धितो लिलामी गरेको भनी आलोचना खेपिरहेको एनआईसी एशिया बैंकले नाफामा झिनो सुधार गरेको छ । अघिल्लो वर्ष १ अर्ब १२ लाख रुपैयाँमात्रै कमाएको यस बैंकले थोरै सुधार गरेर यस वर्षको पहिलो त्रैमासमा १ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ ।

केही बलिया विकास बैंक गाभेर थप मजबुत बन्ने प्रयास गरिरहेको प्राइम कमर्सियल बैंकको पनि नाफा वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा करिब ६६ करोड रुपैयाँ हाराहारीमा कमाएको यस बैंकले यस वर्ष बढाएर १ अर्ब १ करोड हाराहारीमा पु¥याएको छ ।

यसैगरी प्रभु बैंकले ६२ करोडबाट ८५ करोड पुर्याएको छ भने नाफाका आधारमा धेरैजसो पहिलो स्थानमा रहने राष्ट्रिय वाणिज्य बैंकले नाफा १ अर्ब १२ करोडबाट घटेर ८३ करोड रुपैयाँमा झरेको छ ।

एनएमबि बैंकले गत वर्षको मुनाफा २७ करोडबाट बढाएर चालु वर्षमा ७३ करोड नघाएको छ भने मेगा बैंकले ४३ करोडबाट ६० करोड पु¥याएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा पनि गिरावट आएको छ । अघिल्लो वर्ष ८४ करोड रहेकोमा यस वर्षको पहिलो त्रैमासमा ६२ करोड रुपैयाँमा सीमित भएको छ ।